काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशमा रहेका नेपालीको हितरक्षाका निम्ति परराष्ट्र मन्त्रालय र विदेशस्थित नेपाली कूटनीतिक नियोगको क्षमता अभिवृद्धि गर्नुपर्ने बताएका छन् ।
बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको परराष्ट्र मन्त्रालय तथा अन्तर्गतका निकायको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणको प्रस्तुतीकरणसम्बन्धी छलफलमा उनले उक्त कुरा बताएका हुन् ।
बैठकमा प्रधानमन्त्रीले विदेशमा रहेका नेपालीको हितरक्षा र अधिकारलाई आफूले उच्च प्राथमिकता दिएको बताउँदै त्यसका लागि संस्थागत र संरचनागत क्षमता अभिवृद्धि मुख्य विषय भएको बताए प्रधानमन्त्री मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
प्रधानमन्त्रीले भने, ‘विदेश जाने नेपालीको सङ्ख्या बढ्दैछ । तर, हाम्रो परराष्ट्र मन्त्रालय, मातहतका कार्यालय र नियोग आवश्यकताअनुसार बलियो बनाउन सकिएको छैन । दरबन्दी धेरै पूरानो छ । यसलाई बदलेर सङ्गठन र जनशक्ति व्यवस्थापन सुदृढ गरौँ । विदेशमा रहेका नेपालीको हितरक्षा र अधिकारलाई केन्द्रमा राखेर काम गरौँ । सचिवस्तरमा प्राविधिक तयारी गर्नुस् । त्यसपछि हामी चाँडै एउटा निष्कर्षमा पुग्नेछौँ’ ।