काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ राजनीतिक दलहरुले पुराना राजनीतिक दलहरुलाई सम्मान गर्न नसकेको बताए ।
शुक्रबार काठमाडौंमा नेपाल बुद्धिजीवी संगठनको छैटौं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले नेपालमा राजनीतिक दल र पार्टीहरू दशकौँको संघर्ष र बलिदानपछि लोकतान्त्रिक गणतन्त्रको युगमा नेपाललाई प्रवेश गराएको कुरालाई बिर्सिएर नयाँ राजनीतिक दलहरुले पुराना दललाई अपमान गरिरहेको बताएका हुन् ।
‘पुराना राजनीतिक दलकै कारण आफू अहिले यो अवस्थामा आइपुगेको हुँ’ भन्ने हेक्का नयाँ राजनीतिक दलहरुले राख्न जरुरी रहेको प्रधानमन्त्री प्रचण्डको भनाइ थियो ।
प्रधानमन्त्री दाहालले नेपाली कांग्रेस, नेकपा एमालेलगायतका राजनीतिक दलभित्रका समस्या पनि आफूले सम्बोधन गर्नेगरी काम गरिरहेको पनि बताए। उनले जीवनको उत्तर्राद्धतिर पनि आफू जनयुद्धकालको भन्दा बढी खटेर काम गरिरहेको बताए ।