काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र मनोनयन प्रणालीको अन्त्य गरिने बताएका छन् ।
शुक्रबार पार्टीनिकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले भने, “विधान अधिवेशनबाट पार्टीमा प्रत्यक्ष निर्वाचन गर्ने निर्णय गरिएको छ । मनोनयन गर्ने प्रथा अब रहँदैन, विद्यार्थीमा पनि प्रत्यक्ष निर्वाचन हुन्छ ।”
नेपालका कम्युनिस्टहरू एकताबद्ध गर्नुपर्नेमा जोड दिँदै उनले एकीकृत पार्टीको माओवादी केन्द्रले गर्न सक्नुपर्ने पनि बताए । उनले भने, “हामी कमजोर छैनौँ, पार्टीको जनमत बढ्दैछ । पार्टी क्रमशः बलियो हुँदै गएको छ । हामी एकताबद्ध हुँदा धेरै कुरा जित्न सकिन्छ, त्यसैले उच्च मनोबलका साथ जनतासँग एकाकार भएर काम गर्नु हाम्रो जिम्मेवारी हो ।”
यस्तै, पछिल्लो समय अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको प्रस्तुति निकै शक्तिशाली भएको स्पष्ट पार्दै प्रधानमन्त्री प्रचण्डले अन्तर्राष्ट्रिय मञ्चहरूबाट नेपालले विश्वलाई शक्तिशाली सन्देश दिएको बताए । माओवादी निर्णायक शक्ति भएर अगाडि बढिरहेको उल्लेख गर्दै उनले भने, “कतिलाई लाग्छ– माओवादीले आफ्नो स्वतन्त्र अस्तित्व गुमाउँछ कि ? तर, यथार्थ त्यस्तो हुँदैन, हेर्दै जानुहोला– माओवादी नै निर्णायक हुन्छ । हामी नै राजनीतिको केन्द्रमा रहन्छौँ ।”
आज पनि विचार र राजनीतिमा माओवादी श्रेष्ठ रहेको बताउँदै प्रचण्डले माओवादी नेतृत्वप्रति जनताको भरोसा रहेको बताए । “माओवादीलाई अपदस्त गर्न सकिन्छ, घेरा हाल्न सकिन्छ भन्ने लागेको होला, त्यो सम्भव छैन । अहिले पनि नेतृत्व हाम्रो नै छ,”– उनले भने ।