January 13, 2025, Monday
२०८१ माघ १
1:37:26 pm

नर्सिङ क्षेत्रमा देखिएको आकर्षणले यस क्षेत्रमा राम्रो सम्भावना र भविष्य रहेको छ: प्रधानमन्त्री प्रचण्ड

2.2K

काठमाडौं । प्रधानन्त्री पुष्पकमल दाहाल प्रचण्डले नर्सहरूको सेवासुविधामा एकरूपता ल्याउन सरकारले सकारात्मक पहल गर्ने आश्वासन दिएका छन्।

चौधौं राष्ट्रिय नर्सिङ सम्मेलनलाई  सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने,’नर्सहरूको सेवासुविधामा एकरूपता छैन, निजी अस्पताल, निजी नर्सिङ कलेज,नर्सिङ होमहरूमा  सरकारको न्यूनतम पारिश्रमिकसरह सेवा सुविधाको सुनिश्चिता हुनुपर्छ । उत्पादित जनशक्तिलाई स्वदेशमै रोजगारीको व्यवस्थाका निम्ति आवश्यक नीतिगत प्रबन्ध गरिनेछ ।’

प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय स्वास्थ्य सेवा प्रवाह र सेवा विस्तारका क्षेत्रमा नेपालले महत्त्वपूर्ण प्रगति गरिरहेको पनि बताए । ‘नर्सिङ क्षेत्रमा देखिएको आकर्षणले यस क्षेत्रमा राम्रो सम्भावना र भविष्य रहेको छ भन्ने देखाएको छ । क्षेत्रको उचित व्यवस्थापन र युगानुकूल विकासका निम्ति वैज्ञानिक नीति, योजना र कार्यक्रम तर्जुमा गर्नुपर्ने जिम्मेवारी थपिएको छ’, उनले भने ।

Advertisement

यस्तै, नेपालका अस्पतालहरूमा नर्स बिरामीको अनुपातअनुसार दरवन्दी कायम नभएकाले नर्सहरूको कार्यभार बढिरहेको विषयबारे सरकार जानकार रहेको पनि प्रधानमन्त्री प्रचण्डले बताए । अर्थतन्त्रका आन्तरिक र बाह्य दुवै सूचकहरूमा सकारात्मक परिवर्तन आइरहेकाले निकट भविष्यमा नर्सहरूको सेवासुविधा र दरबन्दीको विषयलाई सम्बोधन गर्न सहयोग पुग्ने पनि उनले बताए।

प्रधानमन्त्री प्रचण्डले नर्सिङ सेवामा कार्यरत प्राविधिक जनशक्तिले लामो समयसम्म ‘इन्टर्न’मा काम गर्नुपर्ने र जागिर पाएका नर्सहरूको पनि पारिश्रमिक न्यून रहने अवस्थाको अन्त्य हुनुपर्ने बताउँदै ग्रामीण र दूरदराजमा काम गर्ने नर्सहरूका लागि प्रोत्साहनका कार्यक्रमहरू ल्याउनुपर्नेमा पनि जोड दिए।