November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

ठूला दलका अध्यक्ष र हामीजस्ता मन्त्री भएकाहरूको सम्पत्ति छानबिन गरौं: गगन थापा

1K

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सांसददेखि मन्त्री र प्रधानमन्त्री भएकाहरूको सम्पत्ति छानबिन गरिनुपर्ने बताएका छन्।

बुधबार चाबहिलस्थित पशुपति मित्र माविको कार्यक्रममा बोल्दै महामन्त्री थापाले भने, ‘कांग्रेस, एमाले, माओवादी अध्यक्षको, अहिलेको प्रधानमन्त्रीको, पूर्वप्रधानमन्त्रीको, हामीजस्ता मन्त्री भएका मानिसको सम्पत्ति छानबिन गरौं । जति पनि ठूला काण्ड र प्रकरण छन् ती सबैमा जिम्मेवार भएका मानिसलाई कहीँ न कहीँ दण्ड पाउनुपर्छ भनेर डर सिर्जना गरौं। नागरिकहरूलाई राज्यसँग भर होस्, गलत गरेकालाई राज्यसँग डर होस्।’

महामन्त्री थापाले सार्वजनिक सम्पत्ति अपचलन र सहकारी प्रकरणमा मुछिएकाहरूमाथि पनि छानबिन गरी कारबाही गरिनुपर्ने बताए । अस्तीसम्म यहीँ कपनको कार्यक्रममा सहकारी विज्ञ भनेर आइराख्नु भएको थियो केबी उप्रेती। ८ अर्ब खाएर भाग्नुभएछ, पत्रिकामा दुई दिनअघि आएको छ,’ थापाले भने, ‘८ अर्ब खाएको मानिस विज्ञ भएर गाउँ-गाउँमा भाषण गरिरहेको छ।

Advertisement

अरब-अरब खाएर भागेका मानिसलाई कारबाही गर्न विभिन्न अड्का र निकाय भए पनि कारबाही नभएको उनले बताए। राजनीतिक दलका र जतिसुकै शक्तिशाली भए पनि गलत गर्‍यो भने दण्ड पाउँछ भन्ने कुरा स्थापित गरिनुपर्ने उनको भनाइ थियो।