काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब कसैले पनि चुनाव भन्दा अघि गठबन्धन गर्ने बारेमा कल्पना नगर्ने बताए । आईतवार ललितपुरको गोदावरी नगरपालिकाको ८ औं स्थापना दिवसको अवसरमा बोल्दै उनले कसले कसलाई धोका दिन्छ भन्ने कुराको चेतसँगै अब चुनावअघि गठबन्धन नहुने बताएका हुन् ।
महामन्त्री थापाले केही नेताहरु मिलेर चुनावअघि गठबन्धन गर्ने कुराको अब अन्त्य भएको बताए । चुनावअघिको गठबन्धनले राजनीतिक भ्रष्टीकरण गरेको बताउदै उनले निर्वाचन प्रणाली बदल्नुपर्ने आवश्यकता रहेको पनि बताए ।
महामन्त्री थापाले भने, ‘एउटा कुरा मलाई खुशी लागेको छ । यो चुनाव भन्दाअघि पार्टीहरु मिलेर, चुनावमा जाने । खास त्यो पार्टीहरु मिल्ने नै होइन, नेताहरु मिल्ने हो । नेताहरु मिलेर चुनावमा जाने जुन एउटा परम्परा नेपालमा सुरु भएको थियो, त्यसले नेपालको राजनीतिलाई एकदमै भ्रष्ट, नेपालको लोकतन्त्रलाई चरम विकृत बनाउँदै लगेको थियो, भित्रभित्रै खोक्रो बनाउँदै लगेको थियो । थप खोक्रो बनाउँथ्यो । अब कसैले पनि चुनाव भन्दा अघि गठबन्धन गर्ने बारेमा कल्पनै गर्दैन ।’
उनले कसले कसलाई धोका दिन्छ भन्ने कुराको हिसावकिताव हुने पनि बताए । उनले भने, ‘यो मानेमा हेर्ने हो भने सबैलाई चेत खुलेको छ । नेपालको राजनीति भ्रष्टीकरण हुने जुन बाटोमा लागेको थियो, यो प्रकरणले सबैलाई सन्देश दिएको छ । यसले हाम्रो निर्वाचन प्रणाली बदल्नुपर्ने कुरामा पनि लिएर जान्छ ।’