October 4, 2024, Friday
२०८१ आश्विन १८
1:37:26 pm

आफ्नो जिम्मेवारीलाई ठीक ढङ्गले पूरा नगरे मन्त्रिमण्डल पुनर्गठन हुनसक्छ: प्रधानमन्त्री

975

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको काम कारबाहीले थप गति लिन थालेको बताएका छन् । सिंहदरबारका काम, मन्त्रालयको ब्रिफिङ र अवलोकनसँग सम्बन्धित काममा आफूले पनि थप सक्रियता बढाएको उनले बताए ।

असंलग्न आन्दोलन (नाम) को शिखर सम्मेलनमा भाग लिई स्वदेश फर्किएपछि आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित विशेष पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले मन्त्रीहरुलाई टार्गेट दिएर काम पूरा नगरेर राम्रो हुँदैन भनेर निर्देशन दिएको बताए ।

उनले भने, “अब पनि सरकारको कामले गति लिएन र मन्त्रालयहरुले आफ्नो जिम्मेवारीलाई ठीक ढङ्गले पूरा नगर्ने हो भने मन्त्रिमण्डल पुनर्गठन हुनसक्छ भन्ने कुरा मैले मन्त्रीज्यूहरुलाई भनेको पनि छु ।”

Advertisement

यस्तै, प्रधानमन्त्रीले सहमतिका आधारमा शान्ति प्रक्रियाको बाँकी काम पूरा हुने विश्वास व्यक्त गरे । संसद् अविधेशन सुरु भएलगतै सत्य निरुपण तथा मेलमिलाप आयोग विधेयक (टीआरसी) लाई निष्कर्षमा पुर्‍याइने उनले बताए ।

प्रधानमन्त्री दाहालले सबै पक्षसँग छलफल भइरहेको र सङ्घीय संसद्को आगामी बैठक सुरु हुने वित्तिकै सहमतिबाट शान्ति प्रत्रियाको बाँकी काम टुङ्गो लगाइने बताए । “सत्य निरुपण विधेयकबारे सबैसँग छलफल गरी तयारी गरेका छौँ । संसद्को उपसमितिबाट टुङ्गो लागेर समितिमा गएको छ । सदन खुल्ने वित्तिकै फुल हाउसमा लगेर प्राथमिकताका साथ टुङ्गो लगाइन्छ”, उनले भने ।