October 4, 2024, Friday
२०८१ आश्विन १८
1:37:26 pm

मुक्कुमलुङमा केवलकार बनाउने निर्णयविरुद्ध फुङ्लिङमा जनप्रदर्शन गरिने

1.8K

काठमाडौं । पहिचान पक्षधरहरूले मुक्कुमलुङ (पाथिभरा) संरक्षणको लागि जनप्रर्दशन गर्ने भएको छ । शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै माघ १५ गते ताप्लेजुङको फुङलिङमा जनप्रदर्शन गर्ने जानकारी दिएको हो ।

पाथीभरामा केवलकार निर्माण गर्ने विषय अहिले पेचिलो बनेको छ । मुकुम्लुङलाई हिन्दुकरण गरीपाथीभरा बनाइएको त्यसमा पनि विकासको नाममा व्यापारीकरण हुन थालेको आरोप पहिचान पक्षधरहरूको छ ।

मुक्कुमलुङ संरक्षण संयुक्त सङ्घर्ष समितिका संयोजक श्रीप्रसाद लिम्बु,पाथीभरा केबलकार खारेजी संयुक्त सङ्घर्ष समिति, प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिका अध्यक्ष डेकेन्द्र सिंह थेगिम, लिम्बु थरगत संस्था (याक्थुङ सयङ) मूल अभियान समितिको तर्फबाट सहजीकरण समूहका संयोजक नन्द कन्दङवा, किरात याक्थुङ चुम्लुङ, सङ्घीय समितिका उपाध्यक्ष गोविन्द आङबुङ, पहिचान सहितको प्रदेश नं.१ प्रदेश पुनः नामाङ्कन अभियान समितिका महासचिव तथा किरात धर्म तथा साहित्य उत्थान सङ्घ मोरङका अध्यक्ष रामभक्त कुरुम्बाङ, प्रतिनिधि, मुक्कुमलुङ तान्सेःप् चुम्भोका प्रतिनिधि सरस्वता सिङ्गक (सरु) र किरात राई यायोक्खाले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै १५ गते प्रदर्सनमा भेला हुन आह्वान गरेको छ ।

Advertisement

मुकुम्लुङलाई हिन्दुकरण गरी पाथीभरा बनाइएको भन्दै त्यसमाथी कथित विकासको नाममा व्यापारीकरण हुन थालेको पहिचान पक्षधरहरूको आरोप छ । विज्ञप्तिमा भनिएको छ, ‘ताप्लेजुङ जिल्लामा अवस्थित मुक्कुमलुङ लिम्बु याक्थुङ समुदायको मुन्धुमी, सांस्कृतिक, आध्यात्मिक पवित्र स्थल हो । यो पवित्र स्थल उक्त समुदायसँग जोडिएको मुन्धुमी, संस्कृति र सांस्कृतिक सभ्यता तथा सम्पदा हो । यसलाई संस्कृतकरण र हिन्दुकरण गरेर कथित पाथीभरा भन्न थालिएको छ । यसको विरुद्धमा त्यहाँका आदिवासी सहित अन्य जनसमूहले आफैले उक्त सांस्कृतिक क्षेत्र र सांस्कृतिक सम्पदालाई संरक्षण र संवर्धन गर्ने आन्दोलन गरेको पनि लामै समय भएको छ । अझ हाल त्यसलाई कथित विकासको नाममा व्यापारीकरण गर्न केबलकार निर्माण गर्ने कार्यलाई सरकारले सहयोग गर्दै आएको बुझिएको छ । यी सबै काम कारबाहीहरु अन्तर्राष्ट्रिय कानून, वि.सं. १८३१ कान्तिपुर नेपाल र लिम्बुवान बीच भएको सन्धि र नेपालको संविधानको धारा ३२ (३) को खिलापमा छ । यस्तो अन्तर्राष्ट्रिय कानून र संविधानको धारा ३२(३) को उलङ्घन गरिएकोमा त्यहाँको समुदायको प्रतिनिधित्व गर्ने हामी निम्न संस्थाहरुको जोडदार विरोध छ र रहिरने छ ।”

“यतिखेर, मुम्कुमलुङ, त्यहाँको पर्यावरण, पुरातात्विक तथा जैविक विविधता र उक्त सांस्कृतिक, आध्यात्मिक तथा मुन्धुमी पवित्र स्थलको मूल्य र मान्यता विरुद्ध केबलकार निर्माणको लागि १० हजार भनिए पनि २० औं हजार रुखहरु काट्ने गतिविधि हुन लागिरहेको छ । यसरी काट्न आँटिएका रुखहरुमा खेड्खेसिङ् खेत्छिड्से (सृष्टिको चौंथो रुख), सासिमा सिङ् (पूजाआजामा बाल्ने धूप), साम्मासि (देव रुख, धुपी), फयेसो कक्फेक्वा फुड् (सेतो चिमाल फूल), पेहेसो थोःक्फ़त्ला फुङ् (लाली गुराँस) जो नेपालको राष्ट्रिय फूल लगायत दर्जनौँ प्रजातिका सयौँ वर्षमा हुर्किबढेका रुखहरु पर्दछन् । यसरी रुख काटी वन फडानी गर्ने र त्यहाँको वातावरण तथा पर्यावरण सखाप बनाउने कार्यको हामीले विरोध गरिआएका छौं । यस्तो गतिविधिलाई रोक्न मुक्कुमलुङ संरक्षण पक्षधर हामी तयारी अवस्थामा नै छौं। केबलकारवालाहरुले त्यहाँ द्वन्द्व र भिडन्तको स्थिति बनाएका छन् । कुनै पनि वाहनामा राज्य तथा गैरराज्य पक्षले हामीमाथि थप उपनिवेश कायम गर्ने यस्ता काम कारबाहीको हामी विरुद्धमा छौं र यस्तो उपनिवेशकारी काम कारबाही अब हामी सहन गर्ने स्थितिमा छैनौँ । हाम्रो पहिचान र अस्तित्वको लागि हामी जीवन मरणको सङ्घर्ष गर्न पनि तयार छौं। यी गतिविधिहरुलाई रोक्नु हामी समुदायको कर्तव्य हो भने सरकारको पहिलो दायित्व हो ।”, विज्ञप्तिमा थप उल्लेख गरिएको छ ।

विज्ञप्तिमा द्वन्द्व र भिडन्तको स्थिति ल्याइ ताप्लेजुङको वातावरण र शान्ति सुव्यवस्थालाई खलल पुर्याउने केबलकार निर्माणको नेतृत्व गर्ने चन्द्र ढकाल लगायतलाई ताप्लेजुङ प्रवेशमा निषेध गरिएको समेत उल्लेख छ ।

यसअघि ताप्लेजुङ जिल्लामा अवस्थित (मुकुम्लुङ) पाथीभरामा निर्माण हुन लागेको केबलकारको कामलाई अघि बढाउन जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा एक समिति गठन गरिएको छ । पाथीभरा क्षेत्र विकास समितिको बुधबार बसेको बैठकले निर्माणको कामलाई अघि बढाउन र निर्माणप्रति असहमत पक्षसँग आवश्यक वार्ता गरी निष्कर्षमा पुग्नका लागि सो समिति गठन गरेको थियो ।

बैठकले जिल्ला समन्वय समितिका प्रमुख छिरिङ लामाको संयोजकत्वमा आवश्यक तयारीका साथै असहमत पक्षसँग वार्ताका लागि नौ सदस्यीय वार्ता टोली गठन गरेको हो । समितिका सदस्यमा फुङलिङ नगरपालिकाका प्रमुख अमिर मादेन, पाथीभरा याङवरक गाउँपालिका अध्यक्ष केशरकुमार मेन्याङ्बो, सिरीजङ्घा र फक्ताङलुङ गाउँपालिकाका अध्यक्ष लालकृष्ण चौहान र राजन लिम्बू (मुक्ति), प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेल, पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबे, ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण थापा र केबलकार निर्माण कम्पनीका प्रतिनिधि रुद्र पौडेल रहेका छन् ।

पाथीभरामा केबलकार निर्माण हुँदा जैविक विविधता, यहाँको मौलिकता र प्राकृतिक सौन्दर्यमा असर पुग्ने भन्दै यहाँका केही स्थानीयलेसमेत केबलकार निर्माणमा असहमति जनाएका छन् ।