काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नागरिक अभिनन्दन गरिने भएको छ । प्रधानमन्त्री प्रचण्डलाई ज्यापू संस्कृति विकास कोषले यही पुस १० गते नागरिक अभिनन्दन गर्ने भएको हो ।
राष्ट्रिय ज्यापू दिवसको सन्दर्भमा उनलाई वसन्तपुरमा एक कार्यक्रमकाबिच नागरिक अभिनन्दन गर्न लागेको व्यवहोरासहित बालुवाटारमा झाँकीसहित कोषले निमन्त्रणापत्र दिएको हो ।
प्रधानमन्त्री प्रचण्डलाई राजनीतिक राज्यव्यवस्था परिवर्तन गर्दै समृद्धि, सुशासन, सामाजिक न्याय, समाजवाद उन्मुख लोकतन्त्र र सङ्घीयतालाई व्यावहारिक रुपमा लागू गरेको, नेपाल सम्बतलाई सरकारी दस्तावेजमा उल्लेख गर्न र बागमती प्रदेशमा नेपालभाषा (नेवारी) र तामाङ भाषालाई मान्यता दिन अभिभावकीय भूमिका निर्वाह गरेकाले सो नागरिक अभिनन्दन गर्न लागिएको जनाइएको छ ।
निमन्त्रणापत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले संस्कृतिमा धनी काठमाडौँ उपत्यका आदिवासी ज्यापू जातिको संस्कृति, सङ्गीत बाजाजागा, रीतिरिवाज, रहनसहनलगायत सामाजिक, सांस्कृतिक उत्थानको लागि सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।