काठमाडौं । अभियन्ता सविता उप्रेतीलाई यस वर्षको अन्तर्राष्ट्रिय साहसिक महिला पुरस्कार प्रदान गरिने भएको छ । नेपालमा अटिजम भएका बालबालिकाको शिक्षामा उल्लेखनीय काम गरेबापत उनलाई यस पुरस्कार प्रदान गर्न लागिएको हो ।
मानवअधिकार र शान्तिका लागि योगदान पुर्याउनेमध्ये एकलाई सन् २०१५ देखि पुरस्कृत गर्दै आइरहेको भारतीय मानवअधिकार परिषद्ले उप्रेतीलाई अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका दिन डिसेम्बर १० मा नयाँदिल्लीमा पुरस्कार प्रदान गर्ने भएको छ ।
संयुक्त राष्ट्रसंघसँग सहकार्य गर्दै मानवअधिकार, श्रम अधिकार र सामाजिक न्यायको क्षेत्रमा काम गरिरहेको परिषद्ले हालै पुरस्कारबारे पत्र पठाएको उप्रेतीले बताइन् । विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार प्रत्येक वर्ष संसारभर बालबालिकामा अटिजम रोग बढ्दो मात्रामा देखिएको भन्दै यसका लागि स्वास्थ्य सावधानी अपनाउन अपिल गर्दै आएको छ ।
उप्रेतीले २२ वर्षकै उमेरम १३ वर्षअघि यस क्षेत्रमा काम गर्न थालेकी थिइन् । अटिजम लागेका बालबालिकालाई पढाउने कुनै विशेष विद्यालय, संयन्त्र र जनशक्ति नभएको समयमा अटिजम भएका बच्चालाई पढाउन २०६७ मा खोलेको ‘स्पेसल स्कुल फर डिसएबल्ड एन्ड रिहाबिलिटेसन सेन्टर’ बाट ४ सयभन्दा बढीले सेवा पाइसकेका छन् । अहिले उनको विशेष विद्यालयको नरेफाँट, ताथली र गोठाटारमा तीन शाखा छन्, जहाँ ६० विद्यार्थी पढ्छन् ।
युवा उमेरबाटै अथक रूपले अटिजम भएका बालबालिकाका लागि नेपालमा अभियान सुरु गरेर सामाजिक जागरण ल्याएको र धेरैको जीवनमा फरक पारेको हुनाले उप्रेतीलाई अन्तर्राष्ट्रिय साहसिक महिला पुरस्कार दिने निर्णय गरिएको परिषद्ले जनाएको छ । परिषद्ले सुरुको वर्ष दलाई लामालाई मानवअधिकार पुरस्कार दिएको थियो ।