काठमाडौं । मानव तस्करमार्फत अवैध रूपमा अमेरिका छिरेका एक नेपालीको अमेरिकास्थित अध्यागमन हिरासतमा मृत्यु भएको छ । मृत्यु हुनेमा बाह्रबिसे नगरपालिका–६ सखुवा बजारका ३२ वर्षीय सुवास श्रेष्ठ रहेका छन् ।
उनको अध्यागमन हिरासतमै छँदा गत सोमबार दिउँसो मृत्यु भएको इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट एजेन्सीले पुष्टि गरेको छ ।
श्रेष्ठले स्वदेशी र विदेशी एजेन्टहरूलाई झन्डै ८० लाख रुपैयाँ बुझाएर गत भदौ ७ मा अमेरिकाका लागि हिँडेका थिए । काठमाडौंबाट हिँडेका उनी टर्की, स्पेन
हुँदै मेक्सिको जाने गैरकानुनी रुटबाट अमेरिका पुगेका थिए । असोजको दोस्रो साता मेक्सिकोबाट अमेरिकाको एरिजोना राज्यको लुकभिल छिरेका थिए ।
अवैध मार्ग हुँदै अमेरिका छिरेपछि सुवासलाई त्यहाँको अध्यागमनले नियन्त्रणमा लिएर टेक्सासस्थित कर्नेस काउन्टी इमिग्रेसन प्रोसेसिङ सेन्टरमा हिरासतमा राखेको थियो । हिरासतमै छँदा सुवासलाई नेपाल डिपोर्ट गर्ने तयारी भइरहेकै बेला कात्तिक २७ मा उनको मृत्यु भएको हो । सुवासका श्रीमती र दुई सन्तान छन् ।