April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

टिकटक प्रतिबन्ध गर्ने सरकारको निर्णयप्रति मिश्रित प्रतिक्रिया

२०८० कार्तिक २७

1.5K

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का प्रमुख सचेतक प्रदीप यादवले टिकटक बन्द गर्ने सरकारको निर्णय स्वागतयोग्य भएको बताएका छन् । उनले सामाजिक संजालमा लेखेका छन्, “धन्यवाद नेपाल सरकार। नेपाल सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको छ। सो निर्णय स्वागतयोग्य छ। नेपाल सरकारलाई धन्यवाद दिन चाहन्छु।”

आज (सोमबार) बसेको मन्त्रिपरिषद्को बैठकले नेपालमा टिकटक बन्द गराउने निर्णय गरेको छ। टिकटकमार्फत सामाजिक सद्भाव भड्किने विभिन्न सामाग्रीहरु सम्प्रेशण भइरहेको अवस्थामा सरकारले नेपालमा टिकटकनै ब्याण्ड गर्ने निर्णय लिएको हो ।

सरकारको यो निर्णयलाई लिएर मिश्रित प्रतिक्रिया आइरहेका छन् । कसैले सरकारको निर्णय गलत भएको भन्दै सामाजिक सञ्जालमा टीकाटिप्पणी गरिरहेका छन् भने कतिले स्वागतयोग्य भएको बताएक छन् ।

Advertisement

सरकारमै रहेको नेपाली कांग्रेस, प्रतिपक्षमा रहेको नेकपा एमाले, राष्ट्रिय स्‍वतन्त्र पार्टी, राप्रपाले यसको विरोध जनाइसकेको छ। सरकारले यसलाई बन्द गर्नुको सट्टा नियमन गर्नुपर्ने उनीहरूको भनाइ छ।

नेपाली कांग्रेसका महामन्त्री एव‌ं प्रतिनिधि सभा सदस्य गगन थापाले सरकारले टिकटक बन्द गर्ने निर्णय गरेर उल्टो कदम हिँडेको बताएक छन‍्। 
महामन्त्री थापाले समाजिक संजालमा लेखेका छन्, “टिकटक बन्द गर्ने निर्णय गरेर सरकार उल्टो कदम हिँडेको छ। सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निरुत्साहित गर्न नियमन आवश्यक छ, तर सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा बन्द गरिनु सरासर गलत हो। यो एउटा सामाजिक सञ्जाल बन्द गर्ने नगर्ने भन्दा पनि यो सरकारको नियतको विषय हो। यसमा सरकारको नियत ‘अभिव्यक्ति तथा व्यैक्तिक स्वतन्त्रता’ लाई कुण्ठित गर्ने देखियो। सरकारले यो कदम सच्चाउनु पर्छ, यसमा किन्तु परन्तु केही पनि चल्दैन।”

यस्तै, कांग्रेसका अर्का महामन्त्री तथा प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले टिकटक बन्द गर्ने निर्णय अविलम्ब फिर्ता गर्न माग गरेका छन्। टिकटक बन्द गर्ने सोच अलोकतान्त्रिक रहेको बताउँदै सरकारलाई सो निर्णय अविलम्ब फिर्ता लिन निर्णय गरेका हुन्।

उनले प्रधानमन्त्रीलाई प्रश्न गरेका छन्, “गर्धनमा पिलो आयो भने गर्धननै काट्ने ? कि जोखिम रहित उपचार खोज्ने ? द्वेष फैलाउनेलाई पहिचान गर, नियम बनाइ बन्द गर, नो कमेन्ट ! तर, एउटा बिराउने साह्रा पिराउने ढंगले समग्र टिकटक बन्द गर्ने सोच अलोकतान्त्रिक छ l यो निर्णय अविलम्ब फिर्ता होस् ।”

यस्तै, नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले सरकारले सामाजिक सञ्जाल नियमन गर्नुको सट्टा नियन्त्रण गर्न लागेको बताएका छन्। ‘जुम्रा पर्‍यो भनेर रोकथाम, नियन्त्रणको उपाय अवलम्बन गर्नुभन्दा टाउकै काटेर फ्याँक्न उद्दत भएजस्तो’ भएको उनको टिप्पणी रहेको छ।

राष्ट्रिय स्वतन्‍त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले टिकटक बन्द नभई नियमन गर्नुपर्ने धारणा राखेका छन्। यसबारे सभापति लामिछानेले प्रश्न गरेका छन्। ‘सत्ताधारी दलकै जिम्मेवार पदाधिकारीहरूको विरोधको अर्थ चाहिँ बुझिएन। के यो निर्णय माओवादी केन्द्रको मात्रै हो?,’ उनले सोधेका छन् । उनले टिकटकका कन्टेन्टमा समस्या भएको भए पनि प्लेटफर्म नै बन्द गर्न नहुने बताए। 

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय अनुचित र अनुपयुक्त भएको बताएका छन्। सामाजिक सञ्जालमा हुनसक्ने विकृतिको नियमन र नियन्त्रण आवश्यक रहेको भन्दै प्रतिबन्धलाई स्वीकार गर्न नसकिने उनको भनाई छ। 

यसअघि भारत, अष्ट्रेलिया, बेल्जियम क्यानडा, नर्वे, न्यूजिल्याण्ड, डेनमार्कलगायतका देशले पनि टिकटक बन्द गरेका छन् ।

पछिल्लो समय टिकटकमा अनैतिक, अस्वभाविक र अपाच्य गतिविधि हुनुका साथै चरित्रहत्या गर्ने ‘प्लेटफर्म’ बनेको जनगुनासो बढ्दै गएको छ ।