काठमाडौं । सामाजिक सद्भाव विगार्ने काम गरेको भन्दै सरकारले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले सामाजिक सञ्जल टिकटक बन्द गर्ने निर्णय गरेको सरकारको प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।
टिकटक बन्द गर्ने निर्णय तत्काल कार्यान्वयनमा जानेछ र त्यसका लागि कुनै डेडलाइन नतोकिएको मन्त्री शर्माले बताइन् । मन्त्री शर्माले भनिन्, ‘टिकटक बन्द गर्ने निर्णय कार्यान्वयनमा जान प्राविधिक रुपमा केही समय लाग्ला तर तत्काल बन्द गर्ने निर्णय भएको छ । त्यस सम्बन्धी आवश्यक व्यवस्था सञ्चार मन्त्रालयले मिलाउने छ ।’
यसअघि भारत, अष्ट्रेलिया, बेल्जियम क्यानडा, नर्वे, न्यूजिल्याण्ड, डेनमार्कलगायतका देशले पनि टिकटक बन्द गरेका छन् ।
पछिल्लो समयमा टिकटकमा अनैतिक, अस्वभाविक र अपाच्य गतिविधि हुनुका साथै चरित्रहत्या गर्ने ‘प्लेटफार्म’ बनेको गुनासो बढ्दै गएको थियो । टिकटक बन्द गर्ने सरकारको निर्णयलाई धेरैजस्तो नागरिकले स्वागत गरेका छन् ।