काठमाडौ । सुदूरपश्चिम अछाम जिल्लाको साँफेबगर नगर पालिका वडा नम्बर ३ प्रभाकी राजेश्वरी रावल काठमाण्डौमा व्यवसाय गर्छिन् । १३ वर्षको कलिलो उमेरमा तत्कालीन सूचना तथा सञ्चार राज्य मन्त्रीको स्वकीय सचिवसँग वैवाहिक बन्धनमा बाँधिएर ०५६ साल साउनमा काठमाडौं आएकी उनलाई दुख र संघर्ष राम्रो संग थाहा छ । १३ वर्षको कलिलो उमेरमा जबरजस्ती (अनमेल) वैवाहिक बन्धनमा बाँधिएर काठमाडौं छिरेकी उनले १६ वर्षमा छोरालाई जन्म दिईन्, अनि सुरु भए उनका दुःख र सङ्घर्षका दिनहरू ।
मदिराका निकै सौखिन श्रीमानकी कान्छी श्रीमती बनेर काठमाडौं आएकी उनलाई माइती र घर परिवारले हेलाँ होचो र अर्घेलो गर्ने नै भयो । त्यस्तो बेलामा श्रीमानसँग छुट्टिएर काखे बालखसँग काठमाडौंमा संघर्ष गर्नु सामान्य थिएन नै । त्यसमा पनि उनलाई चियो चर्चो र कुरा काट्ने नातागोता र आफन्तहरूको कमी थिएन । हतियारले काटेको घाउ निको हुन्छ, तर बोलीबचन र व्यवहारले काटिएको चोट कहिल्यै निको हुन्न, त्यस्ता सबै कुरा सहेकी छन् राजेश्वरीले ।
मनको ‘बह कसलाई न कह’ भने झै त्यति बेलाका हैरानी समस्या सम्झँदा आफूलाई अत्यास लाग्ने गरेको स्मरण ताजै छ राजेश्वरीको मानस पटलमा । तत्कालीन अवस्थामा मन्त्रीको पि.ए ( स्वकीय सचिव ) समेत रहेका श्रीमानबाट उमेर बढाएर बनाएको नागरिकता धितो राखेर भाँडा वर्तन साहुसँग लिएर व्यापारमा हिँडेकी उनले तीन सयको सामान तत्कालीन मन्त्री गोविन्द शाहलाई एक हजारमा बिक्री गर्दा सगरमाथा चढे झै हौसला र उत्साह भएको त्यो बेलाको स्मरण गर्छिन् । घरबेटीलाई एक वर्षसम्म भाडा तिर्न नसक्दा उनीहरूकै घरधन्दा र कामसमेत गर्नुपरेको दुखका दर्दनाक कथाको नालिबेलिको स्मरण उनीसँग छ ।
सडक विभागको फोन रिसेप्सनिस्ट भएर मासिक २४ सय जागिर खाएपछि एक वर्षको भाडा तिर्न सकेको र त्यस्तो समयमा घरबेटीले लगाएको त्यो गुन कहिल्यै बिर्सन नसक्ने उनको स्मरण छ । जागिरकै सिलसिलामा काठमाडौंको र्याडिसन, पोखरा र भारतको गोहामा क्यासिनोमा काम गरेर मनग्य पैसा कमाएको त्यसैले नै आफ्नो जीवनको सुधार भएको सम्झिन्छिन् । दश हजारबाट सुरु गरेको उनको जागिर समय सन्दर्भमा जिउने राम्रो आधार भएको स्मरण गर्छिन् ।
समयको दौरानसँगै क्यासिनो व्यवसाय बन्द भएपछि उनले काठमाडौंको सिनामंगलमा जीएनआर क्याफे सुरु गरिन् । ८ हजार मासिक भाडाबाट सुरु गरेको उनको खाजा पसल अहिले ‘सुदूरपश्चिम खाजाघर एण्ड गेस्ट हाउस’ भनेर नाम परिवर्तन गरेकी छन् भने एक लाख ८५ हजार भाडा तिर्छिन् ।
कोरोनाको संक्रमण र देशको आर्थिक मन्दीको कारण व्यवसाय धराशायी भयो, ठूलो नोक्सानी ब्यहोर्नु पर्यो। कोरोना कहरमा ६० लाख बढी रकम घाटा र नोक्सानी ब्यहोर्नु पर्यो ।
दुखको बेला खाना नपाएर तीजको व्रतमा ढलेको (मुर्छा परेको) घटना पछि आफू त्यसयता कहिल्यै तीजको व्रतसमेत नबसेको सम्झँदै त्यस्तो दुख गरेर भएपनि पढाएको छोराले अहिले ब्याचलर सकेर जागिर गर्न थालेको साथै आफ्नो व्यवसायमा समेत भरपुर सहयोग गर्न थालेपछि आफू अन्य सामाजिक काममा पनि लाग्न हौसला मिलेको बताउछिन् ।
“अब मेरा दु:खका दिन गए ।”, उनी भन्छिन् । सानातिना दु:ख त दु:ख नभएको अनुभूति हुने गरेको उनी बताउछिन् । ‘छन् गेडी सबै मेरी छैनन् गेडी सबै टेढी’ भने जस्तो पैसा भएपछि आफन्तहरू समेतले साथ सहयोग मायाममता गर्ने गरेको अनुभव स्मरण सुनाउछिन् ।
इमान्दारिता प्रतिवद्धता र सङ्घर्षको प्रतिफल स्वरुप आफ्नो प्रतिष्ठा उचालेकीले नै अहिलेको यो अवस्थामा आइपुगेको बताउदै समस्यामा कोही पनि नआत्तिई निरन्तर कर्ममा विश्वास गर्ने हो भने पक्कै पनि एक दिन लक्ष्यमा पुग्न सकिने उनको धारणा छ । यही प्रतिबद्धता स्वरुप उनले अहिले आफ्ना क्षेत्रका दर्जनलाई रोजगारी दिनुका साथै समस्यामा भर समेत गरेकी छन् । विभिन्न सामाजिक संस्थामा आवद्द भएर जिल्लावासीहरूको सामाजिक काममा पनि साथ सहयोग गर्दै आएकी छन् ।
सङ्घर्षको एउटा कथा हो राजेश्वरी भन्दा फरक नपर्ने गरी दु:ख हन्डर र सास्ती व्यहोरेकी उनी धर्ममा भन्दा कर्ममा विश्वास गर्न सबैलाई भन्छिन् ।