काठमाडौं । नेपाली कांग्रेस महामन्त्री तथा सांसद गगन थापाले स्वास्थ्यकर्मीमाथि अस्पतालमा हुने आक्रमणकारीलाई कारबाही गर्ने सम्झौताको कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै उनले उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई बिरामीका आफन्तले कुट्ने तथा दुर्व्यवहारका घटना न्यूनीकरणका लागि सरकारले स्वास्थ्य क्षेत्रको सेवा प्रवाह क्षमता बढाउन पनि सुझाएका छन् ।
पछिल्लो समय स्वास्थ्यकर्मीमाथि भएका आक्रमणका घटनाबारे सरकार र स्वास्थ्यकर्मीबीच भएको सम्झौता भएको २४ घण्टा नबित्दै फेरि आक्रमण हुनु सही नभएको उनले बताए । उनले भने, ‘सम्झौता भएको २४ घण्टा नबित्दै स्वास्थ्यकर्मीमाथि आक्रमण भएको छ । जबसम्म स्वास्थ्यकर्मीमाथि आक्रमण हुँदा किन्तु–परन्तु नभनी ’जेल विदाउट बेल हुन्छ भन्ने डर हुँदैन अनि कुनै पनि उपचारको सन्दर्भमा उपभोक्ताहरूलाई गुनासो हुन्छ भने वैधानिक सम्बोधन हुन्छ भन्ने भर हुँदैन यस्ता घटना हुन्छन्, । घटना हुन्छ, आन्दोलन हुन्छ, सम्झौता हुन्छ, सम्झौताको कार्यान्वयन हुँदैन । यो चक्र तोड्ने हो भने सरकारले नेपाल मेडिकल एसोसिएसनसँग र स्वास्थ्यकर्मीहरूको संघर्षसमितिसँग गरेको सम्झौताको अक्षरशः कार्यान्वयन गरोस् ।’
सांसद थापाले स्वास्थ्यकर्मीसँग गरेका सम्झौता कार्यान्वयनका लागि संसद्को सहयोग चाहिने भए त्यसका लागि पनि संसद् तयार रहेको बताए । उनले भने, ‘स्वास्थ्य संस्थाको क्षमता नबढाइ हुँदै हुँदैन । यसैले अहिलेको प्रधानमन्त्री नै प्रधानमन्त्री हुनुभएको बेलामा हामीले एकीकृत स्वास्थ्य पूर्वाधार विकास परियोजना र मापदण्ड बनाएका थियौं‚ जसले नेपालको स्वास्थ्य क्षेत्रको सेवा प्रवाह क्षमता कसरी बढाउने भनेर विस्तृत योजना तयार गरेको छ,’ उनले भने, ’एक पटक मम्त्रालयमा धुलो लागेर बसेको होला धुलो टक्टक्याएर पढ्नका लागि प्रधानमन्त्रीलाई आग्रह गर्न चाहन्छु ।’