काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूहरु अहिले पनि बीपी कोइरालाको राजनीतिक चिन्तनको मार्गमा हिँडिरहेको बताए । बीपी राजनीतिक जगतमा सबैका अनुकरणीय विचारक, चिन्तक भएको उल्लेख गर्दै आफूहरु उनकै चिन्तनमा हिँडेको बताएका हुन् ।
बीपी कोइरालाको ११०औं जन्मजयन्तीको अवसरमा पार्टी मुख्यालय, सानेपामा आयोजित बीपी साहित्य महोत्सव उदघाटन समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘बिपी आफैमा वहुआयामिक व्यक्तित्व हुनुहुन्थ्यो । उहाँ राजनीतिक जगतमा सबैका अनुकरणीय विचारक, चिन्तक हुनुहुन्थ्यो भने साहित्यिक आकाशमा सधै अजर र अमर नक्षेत्रको रुपमामा आज पनि स्थापित हुनुहुन्छ । उहाँको राजनीतिक चिन्तनले देखाएको मार्गमै हामी हिडेका छौ । मुलुकलाई त्यही चिन्तनले समृद्ध बनाउने लक्ष्य लिएका छौ, प्रयत्न गरिरहेका छौं भने नेपालका सबै राजनैतिक दलहरूले कुनै न कुनै दृष्टिकोणले आज पनि उहाँको विचारमा आकर्षित मात्रै होइन अनुकरण पनि गर्दै आएका छन् ।
देउवाले आफ्नो राजनीतिक प्रेरणाको स्रोत पनि बीपी नै रहेको पनि उल्लेख गरे । ‘यहाँ उपस्थित रहनुभएका धेरै साथीभाइहरूले समय र उमेरका कारणले बिपीलाई भेट्ने अवसर पाउनुभएन, जतिले पाउनुभयो, जति समय पाउनु भयो उहाँहरुले पक्कै पनि आफ्नो विचारमा, दृष्टिकोणमा, जीवन दर्शनमा र व्यवहारमा उहाँबाट केही न केही कुरा अवश्य लिनुभएको छ । मेरो राजनीतिक प्रेरणाको स्रोत उहाँ नै हुनुहुन्छ’, उनले भने ।
बीपी साधा जीवनमा विश्वास गर्ने उच्च तहको नेता र प्रसिद्ध साहित्यकार र भेटमा ‘तिमीहरु ठूलो मान्छे होइन, असल मान्छे बन्नु’ भन्ने गरेको पनि उनले बताए ।
बीपीले माक्र्स र गान्धीलाई गहिरिएर पढेको पनि देउवाले बताए । उनी प्रेम, शान्ति, अहिंसा र लोकतन्त्रका सन्दर्भमा गान्धीसँग र आर्थिक समानताका सवालमा माक्र्सवादी चिन्तनलाई पनि आवश्यक ठान्ने देउवाको भनाई छ । बीपीले सामन्तवादका विरूद्ध तत्कालिन समयमा देखिएको निरपेक्ष साम्यवाद र निरपेक्ष पूँजीवाद दुबै अपूण देखेको पनि बताए ।
विपी साहित्य महोत्सव भदौ २६ गतेसम्म चल्नेछ ।