September 26, 2023, Tuesday
२०८० आश्विन १०
1:37:26 pm

गाईगोरु बध गर्न पाउने कानून बनाउन सांसद दुर्गा राईको माग

605

काठमाडौँ । नेकपा माओवादी केन्द्रकी सांसद दुर्गा राईले गाईगोरु बध गर्न पाउने कानून बनाउन माग गरेकी छिन् ।मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गत रहेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले आफ्नो संस्कृति अनुसारको पर्व मनाउन यस्तो कानून बनाउनुपर्ने माग गरेकी हुन् ।

संविधानमा धर्म निरपेक्ष राष्ट्र भनेर लेखेपनि कानून बनाउने क्रममा भने धर्मनिरपेक्ष ढंगको नभएको टिप्पणी गर्दै उनलेभनिन्, ‘संविधानमा धर्मनिरपेक्ष लेखियो तर ऐनहरु बनाउने बेला त्यसलाई काट्ने काम भयो । धर्म निरपेक्षता भनेको राज्यको धर्म हुँदैन भन्ने हो तर सदनमा ठूलो ठूलो स्वरमा संविधानमा नलेखिएको विषयहरु उठाइन्छ सांसदहरुबाट । यो समिति सानो संसदपनि भएको हुनाले यहाँ आपत्ति पनि जनाउन चाहन्छु ।’ 

उनले गाईगोरु बधको कानुन बनाउन समितिमा छलफल गर्नुपर्ने बताइन् । ‘हामीले गाईलाई राष्ट्रिय जनावर बनायौँ, गाईलाई कसैले पूजा गर्छ, हाम्रो मुन्धुममा गोरुलाई नचढाइकन पूजा नै हुँदैन । त्यसमा पनि माले गोरु, माले बाच्छालाई पूजा गर्‍यो भने हाम्रो मुन्धुमको पितृहरु खुसी हुने भएकोले यो विषयमा हामीले छलफल गर्नुपर्छ,’ उनको भनाइ थियो ।

Advertisement

गाईगोरु बध गर्न नदिएपछि मुन्धुममा गोरुको हड्डी राखेर उँधौली र उभौलीमा पूजा गर्ने गरेको उनले बताइन् । ‘धर्म निरपेक्षता भनेको के हो ? परिभाषा कसरी गरिएको छ ? त्यसैले ऐन बनाउने र सुशासन कायम गर्ने हाम्रो यो समिति भएकोले यो बारेमा ऐन बनाउँदा विचार गर्नुपर्छ, यो बारेमा बहस चलाउनुपर्छ । धरानमा अहिले सदभाव भड्किएको छ, राई लिम्बु मुर्दावाद भनेर हरेक ठाउँमा भाषण गर्दै हिँडेको छ, नारा लगाइएको छ । के हामी धरानका राई लिम्बुहरु भाग्नुपर्ने हो ? यही हो हामीले संविधानमा लेखेको कुरा ? अब ऐनमा यस्तो व्यवस्था हुनुपर्छ पूजा गर्नेले पूजा गर्न पाउनुपर्छ र काटेर पूजा गर्न पाउनेले काटेर हाम्रो पितृहरुलाई बुझाउन पाउनुपर्छ भन्ने ऐन यहाँबाट बनाउनुपर्छ भन्ने माग राख्न चाहन्छु’, उनले भनिन् ।