काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिस्टहरू एक ठाउँमा हुन जरूरी रहेको बताएका छन् । शुक्रबार पोखरामा समाजवादी मोर्चा नेपाल, गण्डकी प्रदेशस्तरीय सन्देश सभामा बोल्दै प्रधानमन्त्री समेत रहेका दाहालले समाजवादी मोर्चालाई मोर्चामै सीमित नराखी सबै कम्युनिस्टलाई जोडेर जाने सपना रहेको बताएका हुन् ।
उनले भने, ‘हाम्रो सपना समाजवादी मोर्चासँग मात्र सीमित रहँदैन । यहाँ सबै कम्युनिस्ट जोडेर जान्छौं । राष्ट्रवादी, देशभक्त र समाजवादतर्फ आस्था राख्नेलाई जोडेर एउटै कम्युनिस्ट पार्टी बनाउने उद्देश्य राखेका छौं । आगामी दिनमा देशको नेतृत्व कम्युनिस्टले नै गर्नेगरी जानेछौं ।’
एकता, संघर्ष र रूपान्तरण नै समाजवाद भएको भन्दै उनले कम्युनिस्ट एक ठाउँमा केन्द्रित हुन जरूरी रहेको पनि बताए । समाजवादको नयाँ यात्रामा उभिन चाहेको उनले बताए ।
उनले मोर्चा विगतको जस्तो कमजोर नरहेको दाबी गर्दै समाजवादी मोर्चा लामो समयसम्म चल्ने गरी बनाइएको बताए । हतारमा पार्टी एकता हुँदा दुर्घटनामा पुगिएको उल्लेख गर्दै उनले मोर्चा तत्काल पार्टी एकता गर्ने पक्षमा नरहेको पनि बताए ।