काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको उपचार खर्च सरकारले नै बेहोर्ने भएको छ । राष्ट्रपति पौडेलले भारतमा गराएको स्वास्थ्योपचारको खर्चबापतको ५५ लाख रुपैयाँ सरकारले नै बेहोर्ने भएको हो ।
उक्त रकम भुक्तानी गरिदिन परराष्ट्र मन्त्रालयले सोमबार अर्थ मन्त्रालयलाई पत्राचार गरेको छ । परराष्ट्र सचिवस्तरीय निर्णयअनुसार सोमबार परराष्ट्रले अर्थलाई पत्र पठाएको हो ।
राष्ट्रपति पौडेल गत वैशाख ६ गते स्वास्थ्य परीक्षणका लागि श्री एयरलाइन्सको चार्टर एयर एम्बुलेन्समार्फत भारत गएका थिए । उनी त्यहाँ १० दिन उपचार गराई वैशाख १७ गते नेपाल एयरलाइन्सको नियमित उडानबाट नेपाल फर्केका थिए । उक्त अवधिमा लागेको खर्चको बिल भर्पाइ भुक्तानीका लागि पेस भएको भएको भन्दै परराष्ट्रले खर्चका लागि यसअघि अर्थको सहमति मागेको थियो । उक्त खर्च रकम स्वास्थ्य उपचारलगायतको खर्चका लागि प्रचलित कानून तथा स्वीकृत मापदण्डबमोजिम खर्च गर्न भन्दै अर्थमन्त्रालयले परराष्ट्रलाई गत ११ गते सहमति दिएको थियो । उक्त सहमति अनुसार खर्च रकम सम्बन्धितलाई भुक्तानी दिने प्रयोजनका लागि ५५, ०२,२७९ रुपैया निकासा गरिदिन परराष्ट्रले पत्राचार गरेको हो ।
राष्ट्रपति पौडेलले नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उपचार गराएर फर्किएका थिए । फर्केपछि उनको खर्चको विषयमा प्रश्न उठेको थियो । त्यसपछि आफ्नो उपचारमा भएको खर्च आफैंले बेहोर्ने चाहना राखेको भन्दै वैशाख १९ गते राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले विज्ञप्ति जारी गरी आफ्नो उपचारमा भएको खर्च आफैंले बेहोर्न चाहेको उल्लेख गरेका थिए ।