November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

स्वास्थ्य मन्त्रालय र सेनाको तथ्याङ्कमा कोरोना संक्रमित मृतकको संख्या फरक-फरक

3K

काठमाडौं: कोरोनाबाट मृत्यु हुनेको संख्या कति हो भन्ने विषयमा अहिले अन्योल सुरु भएको छ । नेपाली सेना र सरकारको तथ्याङ्क फरक आएपछि कोरोनाबाट मृत्यु हुनेको संख्या कति हो भन्ने विषयमा अन्योलता सुरु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पुस २२ गतेको तथ्याङ्कअनुसार नेपालमा कोरोनाका कारण १ हजार ८ सय ९३ जनाको मृत्यु भएको छ । तर, नेपाली सेनाको तथ्याङ्क भने फरक रहेको छ ।

नेपाली सेनाले पुस २० गतेसम्म २ हजार ८ सय ४६ जनाको शव व्यवस्थापन गरेको सेनाका प्रवक्ता सहायक रथी सन्तोष बल्लव पौडेलले जानकारी दिए । पौडेलले सेनाले २०७७ साल जेष्ठ १२ गते बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार शव व्यवस्थापन गर्दै आएको बताए ।

Advertisement

सिसिएमसीको बैठकले निर्णय गरेर नेपाली सेनालाई कोरानाबाट मृत्यु हुनेको शव व्यवस्थापन गर्ने जिम्मा दिएको थियो । त्यहीअनुसार सेनाले कोरोनाबाट मृत्यु भएकाको मृत्यु प्रमाणपत्र र मृतकको आफन्तको सहयोगमा शव व्यवस्थापन गर्दै आएको छ ।

सेनाले काठमाडौं उपत्यका भित्र शव व्यवस्थापन गर्न विभिन्न टिम बनाएको छ । अन्य जिल्लामा भने जिल्लाको सिसिएमसीको टिम मातहत रहेर शव व्यवस्थापन गर्दै आएको छ ।

सरकारको स्वास्थ्य क्षेत्रको आधिकारिक निकाय स्वास्थ्य मन्त्रालय र सरकारले नै शव व्यवस्थापन गर्न दिएको एक मात्र आधिकारिक निकाय नेपाली सेनाबीचको तथ्याङ्क नमिल्दा कोरोनाबाट वास्तविक मृत्यु हुनेको संख्या कति भन्ने अन्योलता देखिएको छ ।

सेनाले कोरोनाबाट मृत्यु हुनेको शव व्यवस्थापन कार्यविधिअनुसार अस्पताल तथा स्वास्थ्य संस्थाले दिएको कोरोना पोजेटिभ रिपोर्ट, मृत्यु प्रमाणपत्र र आफन्तले सेनालाई शव व्यवस्थापन गर्न दिने मन्जुरी पत्र पाएपछि मात्र शव व्यवस्थापन गर्दै आएको पौडेलले बताए ।

सेनाले कोरोना पोजेटिभ भएको रिपोर्ट, अस्पतालले दिएको मृत्यु प्रमाणपत्र र मृतकको आफन्तले शव व्यवस्थापन गर्न सेनालाई दिएको मन्जुरीनामाको प्रमाणपत्रबिना शव व्यवस्थापन गर्दैन ।

सरकारको दुई आधिकारिक निकायको तथ्याङ्क फरक हुँदा ९ सय ५३ जना कोरोनाबाट मृत्यु भएका मानिसको शव खोइ भन्ने प्रश्न उब्जिएको छ । यती धेरै मृतकको संख्या तलमाथि हुँदा आधिकारिक तथ्याङ्क कुनलाई मान्ने भन्ने अन्योलता बढेको छ ।

सेनाको तथ्याङ्क आधिकारिक
जनस्वास्थ्य विज्ञले भने सेनाको तथ्याङ्क आधिकारिक हुने बताएका छन् । जनस्वास्थ्यविद् डा।रविन्द्र पाण्डेकाअनुसार सेनाले आफूले शव व्यवस्थापन गरिसकेपछि मात्र रेकर्ड राख्ने भएका कारण उसको तथ्याङ्क बढी आधिकारिक र विश्वसनीय हुन्छ ।

तर, अहिले विभिन्न देशहरुले पनि कोरोनाबाट मृत्यु हुनेको संख्या लुकाइरहेको कुरा विभिन्न माध्यमबाट बाहिर आइरहेको डा. पाण्डेले बताए । उनकाअनुसार घाटको तथ्याङ्क हेर्ने हो भने झन् फरक रहेको छ ।

डा. पाण्डेले सरकार, सेना र घाटमा भएको संख्या हेर्ने हो, भने यो संख्या धेरै हुने बताए । सरकारको स्पष्ट र चुस्त व्यवस्थापन नहुँदा यस्तो समस्या आएको उनले बताए ।

सरकारले कम संख्या देखाउँदा आम मानिसमा कोरोनाप्रति कम डर तथा त्रास हुने कारण पनि यो संख्या लुकाइएको हुन सक्ने पाण्डेले बताए । उनले स्वास्थ्य मन्त्रालय, नेपाली सेना र घाटको तथ्याङ्कलाई हेर्ने हो भने वास्तविक कति मृत्यु भयो भन्ने एकिन तथ्याङ्क आउने डा.पाण्डेले बताए ।

सेनाको तथ्याङ्कमा सामान्य रुपमा मरेकाको पनि विवरण समावेश: स्वास्थ्य मन्त्रालय

सेनाले कोरोना संक्रमण नभएकाहरुको पनि शव व्यवस्थापन गर्ने भएकाले उनीहरुको डाटामा बढी भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । उनले पहिले कोरोना लागेको तर संक्रमणमुक्त भएपछि मृत्यु भएकाहरुको पनि सेनाले शव व्यवस्थापन गर्ने हुनाले डाटामा बढी देखिएको बताए ।

कोरोना लागेको समयमा मान्छेको मृत्यु भएपछि सबैले सेनालाई बोलाउने र त्यसरी व्यवस्थापन गरेको शवको पनि तथ्याङ्क सेनाले समावेश गरेको डा.गौतमले बताए । मृतकको व्यवस्थापन आफन्तले नगर्ने भएपछि जसरी भएपनि सेनाले गर्नुपर्ने अवस्था हुँदा यस्तो भएको बताए ।