भक्तपुर । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले योग्य र जुझारू नेताहरूलाई अगाडि बढाउने बारे आफू प्रतिबद्ध रहेको बताए । शनिबार नेपाली काँग्रेस भक्तपुर जिल्ला कार्यसमितिद्धारा आयोजित सम्मेलनमा बोल्दै देउवाले जुझारू र युवा नेतालाई उचित जिम्मेवारी दिन आफू प्रतिबद्ध रहेको बताएका हुन् ।
सभापति देउवाले काँग्रेस जति सुदृढ हुन्छ त्यति नै प्रजातन्त्र बलियो हुने बताउँदै प्रजातन्त्रमा फेरि संकट आउन नदिन काँग्रेस एकढिक्का हुनुको विकल्प नरहेको बताए । उनले भने, ‘कांग्रेस जति बलियो र सक्षम हुन्छ । त्यति नै प्रजातन्त्र सुदृढ हुन्छ र फेरि संकट आउँदैन । त्यसका निम्ति जिल्लाबाट सुरू भएको यो आन्दोलनले देशभरी नै संगठनलाई बलियो बनाउने र पार्टीलाई बलियो पार्छ ।’
उनले यसरी सबै जिल्लाका गाउँगाउँ र घरघरमा पार्टीको उपस्थिति हुनुपर्ने बताए । यसो गरे देशभर पार्टीको संगठन बलियो हुने उनले बताए ।