काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्लाष्टिकजन्य फोहोरले अपरिवर्तनीय क्षति पुर्याउने खतरा बढ्दै गइरहेको बताएका छन् । विश्व वातावरणको अवसरमा शुभकामना दिँदै उनले प्लाष्टिकजन्य फोहोरले मानव स्वास्थ्य र समग्र पारिस्थितिक प्रणालीलाई अपरिवर्तनीय क्षति पु¥याउने खतरा बढ्दै गइरहेको बताएका हुन् ।
सोमबार शुभकामना दिने क्रममा प्रधानमन्त्री प्रचण्डले भनेका छन्, ‘प्लास्टिक हाम्रो आधुनिक जीवनको अभिन्न अंग बनिसकेको छ । एकातर्फ, यसले उद्योगमा क्रान्ति ल्याएको छ, हाम्रो दैनिक सुविधाहरूमा सुधार गरेको छ र हामीलाई अनगिन्ती लाभहरू प्रदान गरेको छ । अर्कोतर्फ, यसको अत्याधिक र अव्यवस्थित प्रयोगले ठूलो वातावरणीय समस्या सिर्जना गरेको छ । हाम्रा महासागरहरू, ल्यान्डफिल साइटहरू, समथर भूमि, पहाडी, उच्चपहाडी र हिमाली क्षेत्रहरु जताततै प्लास्टिकको फोहोरले भरिएका छन्, जसले मानव स्वास्थ्य र समग्र पारिस्थितिक प्रणालीलाई अपरिवर्तनीय क्षति पु¥याउने खतरा बढ्दै गइरहेको छ ।’
प्रधानमन्त्री प्रचण्डले यस राष्ट्रिय अभियानमा सरिक हुन सबै नेपालीलाई आह्वान गरेका छन् ।