लन्डन । भूतपूर्व गोर्खा सैनिक तथा समाजसेवी सूर्य नेम्बाङले आफूमाथि लागेको आरोपको खण्डन गरेका छन् । ‘भूतपूर्व गोर्खाका सन्तान बेलायत लगिदिने बहानामा करोडौं ठगी’ गरेको आरोपको खण्डन गर्दै नेम्बाङले आफ्नोबारे जनआस्थामा समाचार आउनुलाई केही व्यापारीहरूले उक्त पत्रिकालाई प्रयोग गरेको बताएका हुन् ।
केहीदिन अघि जनआस्थाले ‘बेलायतदेखि नेपालसम्म ठगीको बान्की’ शिर्षकमा नेम्बाङले बेलायतको आवासीय भिसा मिलाइदिने प्रलोभन देखाउँदै एउटै परिवारबाट झण्डै ५० लाख रुपैयाँसम्म असुलेको, साथै सोलिसिटर र कोर्ट फिबाहेक ५ हजार पाउण्ड (८ लाख रुपैयाँ) न्यूनतम रकम लिने गरेको पाइएको समाचार सम्प्रेषण गरेको थियो । उक्त समाचारको खण्डन गर्दै नेम्बाङले भने, ‘मेरो बारेमा लेख्ने पत्रकारलाई धन्यवाद । यो पत्रीकाले समाचार त लेख्यो, तर सप्रमाण लेखेको भए झन् राम्रो हुनेथियो । कुनै प्रमाणविना समाचार लेख्ने जनआस्थालाई व्यापारीहरूले प्रयोग गरेको महसुस भएको छ ।’
नेम्बाङले गोर्खाहरुको परिवालाई बेलायत लैजाने विषयमा सन् २०११ देखि नै सेवा पुर्याउदै आइरहेको बताए । ‘जुन दोब्बर शुल्क लियो भन्ने आरोप छ, मैले सन् २०११ देखि गोर्खा सत्याग्रह संघर्ष समिति बेलायतमा काम गर्ने मौका पाएँ । त्यहाँबाट एभरेष्ट ल फममा गएर मैले अशक्त बुबाआमाहरुलाई लाने, वहाँहरुलाई काउन्सिलिङ गर्ने, एप्लाई गर्नेको डकुमेन्टेशनहरु मिलाई दिने, अन्तर्वार्ता दिन लगाउने लगायतका काममा सहयोग गर्थेँ । त्यतिबेला शुल्क कति लाग्थ्यो मलाई थाहा थिएन ।’, उनले स्पष्टिकरण दिए ।
त्यस समय सत्याग्रह संचालनका लागि समितिले आफूलाई ‘एभरेष्ट ल फम’मा पठाएको र सोही समयमा प्रतिनिबेदक स्वैच्छिक सहयोग लिने गरेको थाहा पाएको बताए ।
राजु थापाको अनुरोधमा उनको ‘पब्लिक रिलेशनको डाइरेक्टर’ को रुपमा अफिसमा काम गरेको बताए । ‘२०११ देखि ०१७ सम्म राजु थापालाई नि:शुल्क काम सघाएँ । सत्याग्रह र राजु थापाबीच एक क्लाईन्ट बराबर कम्तीमा सय डलर दिने सहमति थियो । तर, सत्याग्रहले २ सय डलरसम्म दिन अग्रह गरेको थियो । राजुबाट सय डलर पनि नआएपछि सत्याग्रहले राजु थापाको यमी निबेदक कति छन् ? भनेर निगरानी राख्ने र काम पनी गर्ने भनेर काम सुरु हुँदैगर्दा अत्यधिक क्लाईन्ट मेरो सम्पर्कमा आएका थिए ।’, उनले भने ।
नेम्बाङले नेपाला मामिलासँग भने, ‘२०१७ को नोभेम्बरमा आफ्नो जागीरलाई समय दिनुपर्ने भन्दै म काम नगर्ने निर्णयमा पुगेँ। त्यतिबेला सोलीसिटर राजु थापाले मलाई १५ सय डलर खर्च लिन र कामलाई निरन्तरता दिन अनुरोध गर्नुभयो। प्रतिव्यक्ति मेरोबाहेक मुद्दाको ५ सय डलर लिनु, केही कुरा आयो भने म बोल्छु भन्नुभएको थियो ।’ यातायात खर्च भने लिएको उनको दाबी छ । ‘यहाँदेखि सल्टरसट, आस्फोर्ड, लगायतमा ४/५ घण्टाको यात्रा गर्नुपर्छ । दिनमा ३ पटक ओहोरदोहोर गर्दा त्यो ५ सय पाउण्डको त तेल मात्रै जान्छ । त्यसैले म ४/५ जनाको समूह बनाएर मैले तेलको पैसा भने लिएकै हो ।’, उनले भने । ‘एउटा मुद्धा किनारा लाग्न ३ वर्षसम्म लाग्न सक्छ । कुनै मुद्दा ३/४ पटकसम्म सुनुवाइ हुन्थ्यो । ’, उनले थपे ।
नेम्बाङले आफूलाई प्रयोग गरिएको पनि बताए । उनले भने, ‘नेपालमा लिला मास्केसँग हामीले १ जना बराबर ३० हजार लिने सम्झौता गर्यौं । १० हजार गोर्खा सत्याग्रहलाई दिने हामी विज्ञापन गरिदिन्छौं भन्ने कुरा भयो । पछि यूकेबाट धेरै डकुमेन्टहरु पठाउने क्रममा लिलाजी भन्दा हाम्रो काम विपिन साहसँगै भयो । विपिन साहजीको अफिसमा समिकाछी श्रेष्ठ नाम गरेको वहाँको स्टाफ थिइन् । उनले मलाई यहाँ १६ हजार मात्र दिन्छन्, काम छोड्दैछु, बरु तपाईको काम घरमै बसेर गरीदिन्छु भनेकी थिईन र मैले एक जना बराबर ३० हजार दिँदै आएको थिएँ ।’ तर उनले जथाभावी क्लाइन्टहरु तयार पर्ने र मनोमानी शुल्क अशुल्ने गरेपछि कारबाही गर्ने ठाउँसम्म छ भनेको उनको भनाइ छ ।
यिनै कारण आफूबिरुद्ध कपोकल्पित समाचार सम्प्रेषण गरेको उनले बताए । ‘क्लाइन्टहरुसँग पैसा लिने तर उनीहरुको मुद्धा दर्ता नगरिदिने गरेको भेटेँ । कप्लेन पनि हाँने, अनि ऊ मसँग रिसाएको हो ।’, नेम्बाङले नेपाल मामिलासँग भने ।
यस्तै उनले विरामी छु भनेर आफूबाट पैसा लिएको पनि बताए । ‘विरामी छु भनेर मसँग ३०/३५ लाख लियो । पछि उनले तिरिन् तर, अरु क्लाइन्टबाट केकेमा लाग्छ भन्दै मेरो अकाउन्टमा लगाउन लगाएकी रहेछन् । ६० लाख नाघिसकेपछि भने मसँग निहुँ खोज्न थालेको हो । त्यसपछि मैले जागिरबाट निकालेँ । निकालिसकेपछि राजु थापासँगको मिलेमतोमा मलाई फसाउने षडयन्त्र गरेको हो ।’, नेम्बाङले भने ।
‘जनआस्थामा मेरो बारे समाचार छापिनु अघि नै मलाई एभरेस्ट ल का राजु थापाले अब तिम्रो नाम पत्रिकामा आउदै छ है भनेका थिए । पैसा धेरै यताउता भयो भन्छ भाइ, घरमा प्रहरी आउँछ, प्रहरीले अन्तर्वार्ता लिन्छ, यसरी बोल्नोस् है ! भनेर मलाई बोल्न सिकाएको थियो ।’, नेम्बाङले आफूले संकलन गरेको रकम उनैलाई बुझाएको पनि बताए । ‘वहाँको बैंकमा ट्रान्सफर गर्दा वहाँ कराउनुहुन्थ्यो । अफिसमा बोलाएर मिटिङ बस्नुहुन्थ्यो । मैले वहाँलाई नगद पैसा २ दुई सय हजार डलरभन्दा बढी वहाँलाई बुझाएको छु ।’, उनले भने ।