April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

ढल्केबर सबस्टेशनको क्षमता वृद्धिः विद्युत् निर्यात गर्न पूर्वाधार तयार

3.4K

काठमाडौं: देशको विद्युत् प्रणालीको प्रमुख हवका रुपमा रहेको ढल्केबर सबस्टेशनलाई थप क्षमतायुक्त बनाइएको छ । हालसम्मकै सबैभन्दा ठूलो मानिएको उक्त सबस्टेशनमा थप ३१५ एमभिए क्षमताको ट्रान्सफर्मर जडान गरिएको छ ।

धनुषामा रहेको उक्त सबस्टेशनको क्षमता बढाइएपछि पूर्वी तथा पश्चिम नेपाल एवम् राजधानी काठमाडौँमा विद्युत् आपूर्तिका लागिसमेत थप सहज भएको छ ।

नेपाल विद्युत् प्राधिकरणले सरकारको लगानीमा ग्रिड सबस्टेशन क्षमता अभिवृद्धि आयोजना अन्तर्गत ढल्केबरमा २२०-१३२, ३१५ एमभिए क्षमताको पावर ट्रान्सफर्मर थप गरी थप क्षमतायुक्त बनाएको हो ।

Advertisement

प्राधिकरणका कायम मुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सबस्टेशनमा जडान गरिएको ३१५ एमभिएको थप पावर ट्रान्सफर्मरको आइतबार राति साढे १० बजे चार्ज गरिएको जानकारी दिनुभयो ।

अहिले ढल्केबर सबस्टेशनमा २२०-१३२ केभीका दुईवटा ट्रान्सफर्मर सञ्चालनमा छन् । जसको क्षमता ३२० एमभिए छ । अब सबस्टेशनको क्षमता ६३५ एमभिए पुगेको छ । ग्रिड सबस्टेशन क्षमता अभिवृद्धि आयोजनाअन्तर्गत ढल्केबरमा जडान गर्न लागिएको ३१५ एमभिएका दुईवटा ट्रान्सफर्मरमध्ये एउटा चार्ज गरिएको हो । बाँकी एउटा ट्रान्सफर्मरको जडान भइरहेको कामु कार्यकारी निर्देशक शाक्यले बताउनुभयो ।

“कूल ३१५ एमभिएको ट्रान्सफर्मर चार्ज भएसँगै अब जाडोमा भारतबाट थप करीब एक सय मेगावाट विद्युत् आयात गरी देशभित्रको विद्युत् माग धान्न आपूर्ति गर्न सकिन्छ”, उहाँले भन्नुभयो । यस्तै ४५६ मेगावाटको माथिल्लो तामाकोशी आएपछि आन्तरिकरुपमा खपत हुन नसकेको विद्युत् निर्यात गर्न पूर्वाधार तयार भएको उहाँको भनाइ छ ।

केही महिनाअघि सञ्चालनमा आएको ४००-२२० केभी ढल्केबर सबस्टेशनमा ३१५ एमभिए क्षमताका तीनवटा गरी ९४५ एमभिए क्षमताको पावर ट्रान्सफर्मर छन्, जसले करीब नौ सय मेगावाट विद्युत्लाई प्रसारण गर्न सक्ने क्षमता राख्दछ ।

प्राधिकरण प्रसारण निर्देशनालयका प्रमुख दीर्घायुकुमार श्रेष्ठका अनुसार अब आवश्यक परेमा ढल्केबर–मुजफ्फपुर प्रसारण लाइनमार्फत भारतीय पक्षसँग भएको सम्झौताअनुसार थप करीब एक सय मेगावाट विद्युत् आयात गर्न सकिनेछ ।