काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल एमाले लाग्यो भने केही दिनमा गठबन्धन भत्किने दाबी गरेका छन्। शुक्रबार प्रेस चौतारी नेपालले कैलालीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै एमालेले लागे केही दिनमा गठबन्धन भत्किने दाबी गरेका हुन्।
‘अहिले म तिथिमितितिर जान्नँ। मैले यति भनें कि हामी अहिले यो गठबन्धन भत्काउने, अर्को गठबन्धन बनाउने त्यो काममा लागेका छैनौं, एमाले लाग्यो भने त्यो केही दिनको विषय हो।’ उनले भने, ‘यसरी वा त्यसरी जे होस् कुनै पनि गठबन्धन भत्काएर अर्को गठबन्धन बनाउने धन्दामा हामी लागेका छैनौं। यदि एमालेले त्यो आवश्यक्ता महसुस गर्यो भने केही हप्ताको काम हुन्छ।’
पौडेलले नेता भीम रावलले एकपछि अर्को गल्ती गर्दै गएको दावी पनि गरे । नेता रावलले पार्टीको निर्देशन समेत नमान्ने गरेको बताए । पार्टी अनुशासनको दृष्टिकोणले, पार्टी सदस्यको हैसियतमा निर्वाह गर्नुपर्ने भूमिकाको हिसाबले र विगतमा लामो समय नेतृत्वमा पनि रहिसकेको हैसियतमा रावलले एउटा पार्टी सदस्यको भूमिका समेत निर्वाह नगरेको उनको आरोप छ ।
रावलले पार्टीको निर्णय नमानेको र अनुशासन समेत उल्लंघन गरेको उनले बताए । पार्टी निर्णयका विरुद्ध पार्टीको खिलाफमा बोल्ने गरेको बताउदै उनले नेता रावलबाट पार्टीलाई कमजोर पार्ने गतिविधि भइरहेको बताए । नेता रावलले एकपछि अर्को गल्ती गर्दै हिडेको बताउँदै यसरी हिड्दै गए पार्टी सोच्न बाध्य हुने उनको भनाइ थियो ।