काठमाडौं । नेकपा एमाले सरकारबाट बाहिरिने भएको छ । एमालेको सचिवालय बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै एमालेले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।
एमालेका उपाध्यक्ष विष्णु पौडेलले पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने निर्णय गरेको बताएका छन् । गएराति वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शङ्कर पोखरेल र अध्यक्ष केपी ओलीबीच दुई घण्टा गहन छलफल गरेका थिए । सो छलफलमा एमालेले सरकार छोड्ने निर्णय भएको बताइएको छ ।
यता, उपाध्यक्ष पौडेलले प्रधानमन्त्री दाहालले एमालेलाई सरकारबाट बाहिरिन दबाब दिएको बताएका छन् । पौडेलले प्रधानमन्त्री दाहालले नेकपा एमाले सरकारबाट नबाहिरिए तत्काल एमालेका मन्त्रीहरुलाई बर्खास्त गर्ने वा बिना विभागीय मन्त्री बनाउने सम्मको चेतावनी दिएको आरोप लगाए ।
उनले प्रधानमन्त्री दाहालले जेनेभा भ्रमणमा जान लाग्नुभएकी परराष्ट्रमन्त्री डा. विमला राई पौड्याललाई अन्तिम समयमा रोकेर अपरिपक्वता देखाएको र नेकपा एमालेमाथि प्रतिरोध साँधेको आरोप लगाए । उनले अन्तिम समयमा राष्ट्रको प्रतिनिधित्व गर्नबाट रोक्नुले राष्ट्रको इज्जतमाथि नै प्रतिकुल असर परेको दाबी गरे ।
प्रधानमन्त्री दाहालले राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसमा उम्मेदवार रामचन्द्र पौडेललाई सहयोग गर्ने निर्णय गरेपछि एमाले दाहालसँग असन्तुष्ट रहेको थियो ।सत्ता गठबन्धनको मुख्य दल एमालेले समर्थन फिर्ता लिएपछि गठबन्धन संकटमा परेको छ ।