काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले विदेशबाट फर्कने नेपाली नागरिकले आफूसँग दुईवटा मोबाइल ल्याउन पाउने व्यवस्था गर्न पुनः निर्देशन दिएका छन् । विदेशबाट फर्किने क्रममा व्यक्तिगत प्रयोजनका लागि ल्याएको अतिरिक्त मोबाइल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जफत गरिएपछि प्रधानमन्त्री कार्यालयले अर्थ मन्त्रालयलाई पुनः निर्देशन दिएको हो ।
प्रधानमन्त्री प्रचण्डले विदेशबाट फर्किँदा दुईवटा मोबाइल ल्याउने विषयलाई सरल र सहज बनाउन नीतिगत जटिलता भए, त्यसलाई फुकाउन समेत निर्देशन दिएका छन् ।
यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोजनका मालवस्तुसम्बन्धी आदेशमा विदेशबाट फर्किने यात्रुले एउटा मात्रै मोबाइल ल्याउन पाउने व्यवस्था छ । त्यही व्यवस्थालाई देखाएर भन्सारका कर्मचारीले एउटाभन्दा बढी मोबाइल ल्याएमा भन्सार शुल्क तिराउने गरेका छन् । सोमबार मात्रै अमेरिकाबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका डीएल नेम्वाङले ल्याएको थप एउटा मोबाइल भन्सारले जफत गरेको थियो ।