June 21, 2024, Friday
२०८१ असार ८
1:37:26 pm

चिया-पर्यटन : प्रदेश १ समृद्ध बनाउने आधार

२०७९ मंसिर २९

3.2K

युवराज गौतम
नेपाल सात प्रदेशमा विभाजित भइसकेपछि स्थानीय सरकारले आफ्नो प्रदेशको विकास र समृद्धिका लागि भिन्नाभिन्नै अवधारणा र रणनीतिहरु बनाइरहेका छन् । स्थानीय स्रोत साधनको पहिचान र परिचालन गरेर स्थानीय क्षेत्रलाई समृद्ध र सक्षम बनाउने अभियानहरु थालनी भइसकेका छन् । स्थानीय स्रोत र साधनको अवस्थालाई हेरेर प्रदेश सरकारले आफ्नै किसिमका विकासका योजनाहरु तयार पारेको छ । ‘समृद्ध नेपाल र सुखी नेपाली’को अवधारणा अनुरुप सरकारले स्थानीय स्रोत साधनलाई अधिकतम परिचालन गर्ने रणनीति लिएको छ । बजेट सोही अनुरुप तयार पारिएको छ । बार्षिक कार्ययोजना स्थानीयको बस्तुस्थितिकै आधारमा तयार भएको पाउन सकिन्छ ।

४९ लाख बढी जनसंख्या ओगटेको प्रदेश नम्बर १ को प्राथमिकतामा पर्यटन क्षेत्रलाई लिइएको छ । कृषि र जलविद्युतलमार्फत पनि प्रदेश १ ले समृद्धिको बाटो तय गर्ने औंल्याइएको छ । तमोर, अरुण, दूधकोसी, लिखु, सुनकोसी, सप्तकोसीलगायका नदीमा २६ हजार पाँच सय ४१ मेगावाटको जलविद्युत उत्पादन क्षमता छ । कृषिमा पनि प्रशस्त संभावनाहरु छन् । यस प्रदेशमा समुन्द्र सतहबाट ५० मिटरदेखि पाँच हजार मिटर उचाइसम्म कृषि तथा पशुपालन गरिदै पनि आइरहेको छ । त्यसबाहेक पर्यटन यस क्षेत्रको समृद्धिको प्रमुख आधारस्तम्भका रुपमा लिइएको छ । किनकी विज्ञहरुले बृहत अध्ययनपछि ‘ग्रिन इष्ट’को अवधारणा आवश्यक भएको तथ्य सार्वजनिक गरिसकेका छन् ।

भारत, बंगलादेश, चीन र भुटान जस्ता मुलुहरुको गेटवे मानिने प्रदेश १ मा प्राकृतिक, धार्मिक तथा पर्या–पर्यटनका हिसाबले अब्बल मानिएको छ । समरमाथा, पाथीभारा, मकालु, कञ्चनजंघा, इलाम र अधिकांश जिल्लामा फैलिएको चिया यहाँको पर्यटनका लागि आकर्षक मानिन्छ । १४ वटा जिल्ला समेटिएको यस प्रदेशमा एक महानगरपालिका, दुई उपमहानगर, ४६ नगर र ८८ वटा गाउँपालिका छन् । जहाँ कृषि प्रमुख आय स्रोत हो । जसमध्ये धान, चिया, अलैंची, पशुपालन आम्दानीका प्रमुख स्रोत हुन् । सगरमाथा र कञ्चनजंगा हिमाल आरोहणबाट पर्यटक आकर्षण बढाएर आम्दानी प्रशस्त हासिल गर्न सकिन्छ । प्रदेशका १४ जिल्लामध्ये ८ जिल्ला चियाले हराभरा छ । चिया प्राकृतिक रुपमा पनि सुन्दर देखिन्छ । सँधै हरियाली देखिन्छ । जसका कारण चिया–पर्यटन यस प्रदेशको प्रमुख आयस्रोत बनाउन सकिन्छ साथै बनाउन सकिने आधारहरु पनि छन् ।

Advertisement

किन चिया पर्यटन ?

विश्वका कतिपय देशमा चिया–पर्यटन अर्थात टि–टुरिजम प्रमुख आय स्रोतको रुपमा विकसित भएको छ । तर नेपालमा यसको अवधारणा विकास र प्रवद्र्धन हुन सकिरहेको छैन् । हुनत नेपालका करिब ३५ जिल्लामा चिया विस्तार भइसकेको छ । चिया उत्पादन गरी विक्री गरेर आम्दानी लिने पाटो एकातिर रहेपनि पर्यटनको अर्को पाटो आय स्रोतको गतिलो आधार मान्न सकिन्छ । चीन, भारत, केन्या, श्रीलंकाजस्ता देशहरुमा चिया पर्यटनबाट अथाह फाइदा लिन सकेको पाइन्छ । चीनको सिचुवान प्रान्तमा चियाको म्युजियम नै छ । त्यहाँको जंगलमा प्रथम पटक पत्ता लागेको चियाको बोट भएको स्थानलाई संरक्षित गरिएको छ । त्यो पहाडी इलाका भएकाले आगन्तुक पर्यटकलाई माथिसम्म पुग्न रोप–वेको व्यवस्था गरिएको छ । जुन ठाउँ हेर्न वर्षेनी हजारौं जाने गर्दछन् ।

चीनमा मात्र होइन जापानमा पनि यसको विस्तार व्यापक रुपमा भएको छ । चीन र जापानमा चियालाई पेय पदार्थका रुपमा मात्र होइन सभ्यताको रुपमा लिने गरिन्छ । ती दुई देशमा त्यहाँ उत्पादन हुने चियालाई ‘टि टेस्टिङ्ग सेरोमनी’को रुपमा लोकप्रिय भएको छ । त्यहाँ ‘ग्रिन टि, वाइट टि, ब्ल्याक टि, अर्यानिक टि’ चखाएर चियाका पारखीहरुलाई आकर्षित गराउने गरिन्छ । पर्यटकलाई सोही किसिमका चिया चखाएर स्वागत गर्ने परिपाटीको विकास भएको छ । भारतको दार्जिलिङ, आसाम, डुवर्स लगायतका क्षेत्रमा पनि यसको विकास हुँदै गइरहेको छ । चिया संस्कृतिका रुपमा विकसित हुँदै गइरहेको छ ।

चिया अथितिलाई सत्कार गर्ने एक पेय पदार्थ मात्र नभएर मानव सभ्यताको एक अभिन्न संस्कार पनि भएको छ । ठूला मिटिङ, सभा, गोष्ठिमा टि–ब्रेकका रुपमा चिया पिउने परम्पराका कारण अलग्गै संस्कार, सभ्यता हुँदै चिया पर्यटनका रुपमा परिभाषित हुन पुगेको छ । चिया–पर्यटन प्रबद्र्धनको प्रारम्भ चीनबाट भएपछि विश्वका अन्य राष्ट्रले यसबाट ठूलो आर्थिक उन्नती गरिरहेका छन् । त्यसैले चिया पर्यटनको अवधारणा विकास र प्रबद्र्धनको प्रदेश नम्बर १ को गतिलो आधार मान्न सकिन्छ ।

पर्यटकको आकर्षण

विश्वका चिया पारखीहरु चियाको सेवनबाट स्वास्थ्यमा हुने फाइदाका वारेमा बुझेर चिया पिउन प्रोत्साहित हुने गर्छन् । विशेष गरेर पश्चिमा राष्ट्रका नागरिकहरु चिया सेवनको फाइदाका वारेमा विशेष सजग छन् । त्यसैले उनीहरु ‘टि इज हेल्थ ड्रिंक’ भनेर चिया उत्पादक देशहरुमा गुणस्तरिय चिया उत्पादनमा विशेष चासो राख्ने गर्छन् । नेपालको पूर्वी पहाडी जिल्लाहरु चिया उत्पादन हुने उपयुक्त हावापानी भएको क्षेत्रमा गणना हुन्छ ।

प्राकृतिक सुन्दरताका साथै हावापानी पनि उपयुक्त भएकाले इलाम, पाँचथर, धनकुट्टा, तेह्थुम, झापालगायत दोलखा, कास्की, लमजुङ, ललितपुर लगायतका जिल्ला चिया पर्यटनको उपयुक्त स्थानका रुपमा विकास गर्न प्रशस्त सम्भावना भएको क्षेत्र मानिन्छ । नेपालमा करिब १ सय ५० वर्ष पहिले सुरु गरिएको चिया खेती यतिवेला आर्थिक स्रोतका रुपमा विकसित हुँदै गइरहेको छ । करिब २८ हजार हेक्टर जमिनमा चिया विस्तार भइसकेको छ । त्यसैले चियापत्ती प्रशोधन गरेर वा हरियो पत्ती बेचेर आम्दानी गर्नुमात्र होइन कि पर्यटकलाई चियाबारी घुमाएर किसानै हातबाट चिया चखाएर आकर्षित गर्न सकिन्छ । नाङ्गा डाँडालाई सदुपयोग गरेर रोपिएको चियाका वुट्टाले मुना मात्र होइन प्राकृतिक सुन्दरतामा पनि निखार ल्याइदिएको छ । यसर्थ, चियाको स्वाद चखाएर, चियाबारीमै घुमाएर, चियाबारी भित्रकै घरमा बास गराएर, चिया कृषकले नै तयार पारेको हाते चिया उपहार प्रदान गरेर चिया पर्यटनलाई स्थापित गर्न सकिन्छ ।

चियावारी भित्र रिसोर्ट, छोटो दुरीको पदमार्ग, होमस्टे चिया पर्यटनको अवधारणा भित्र पर्दछ । विश्वका राष्ट्रहरुमा नेपाली चियाको गुणस्तर राम्रो भएकाले नेपाल आउन पर्यटकहरु उत्साहित छन् । पर्यटकले नेपालमा चिया खेतीको अवस्था, खेती गर्ने शैली, ऐतिहासिक प्रशोधन कारखाना, कारखानाको अवस्था, चिया उत्पादन गर्ने तरीका, किसानको जीवनस्तर लगायत यहाँको प्राकृतिक सुन्दरतामा विदेशी पर्यटकलाई आकर्षित गराउन सकिन्छ । नेपालमा करिब ६० हजार श्रमिक आश्रित रहेको चिया उद्योगलाई पर्यटनसँग जोडेर विकास गर्न सके प्रदेश नम्बर १ को समृद्धिमा टेवा पुग्ने निश्चित देखिन्छ ।