April 18, 2025, Friday
२०८२ बैशाख ६
1:37:26 pm

निर्वाचनमा मिडिया : गम्भीर गल्ती गर्ने छुट छैन

२०७९ मंसिर २

7.5K

-युवराज गौतम

निर्वाचन लोकतन्त्रको मेरुदण्ड हो । लोकतन्त्रलाई बलियो र पारदर्शी बनाउन आम निर्वाचन जरुरी छ । निर्वाचनमा जनताले मताधिकारको उच्चतम प्रयोग गर्ने मौका पाउँछन् । राम्रोलाई नीति निर्माण तहमा पुर्याउने र नराम्रोलाई पाखा लगाउन जनताले मताधिकारको अधिकतम प्रयोग गर्छन र गर्नुपर्छ । शक्ति पृथकीकरण र लोकतन्त्रलाई संस्थागत गर्न निर्वाचन आवश्यक पनि छ । यसर्थ लोकतान्त्रिक शासन व्यवस्थामा आवधिक निर्वाचन जनअधिकार उपयोगको सुनौलो मौका हो । तर हरेक निर्वाचन र मिडियाको अन्तरसम्बन्ध साथै भूमिकाका बारेमा गम्भीर बहस भइरहेको छैन । निर्वाचन आयोगले मिडिया र निर्वाचनबारे ठूलो धनराशी खर्च गरेर समीक्षा गर्ने, मिडिया परिचालन गर्ने वा भूमिका निर्वाहका सवालमा अन्तरसंवादहरु संचालन गर्ने गर्छ । त्यस्ता अन्तरसंवादको प्रभावकारिताका बारेमा बेग्लै बहस हुनु जरुरी छ । यद्यपी, निर्वाचन र मिडियाको अन्तरसम्बन्धका बारेमा प्रशस्त गृहकार्य हुनु जरुरी छ ।

वि.स. २००४ सालमा काठमाडौंमा भएको स्थानीय निर्वाचन(काठमाडौं म्यूनिसिपालिटी) बाट नेपालको इतिहास जोडिन्छ । तर ०४ सालमा नेपाली मिडियाहरुको भूमिका कस्तो थियो भन्ने कुरा मिडियाको विकाससँग जोड्नु जरुरी छ । तत्कालीन राजनीतिक अवस्था र मिडियाको विकासक्रमबारे नबुझी यसका बारेमा विश्वेषण र व्याख्या गर्न सकिदैन । जहानीया राणा शासन कालमा संचारमाध्यमको पर्याप्त विकास भएको थिएन । गोरखापत्रमा छापिएका समाचारलाई आधार मानेर मिडियाको भूमिका खोज्नु शिवाय अरु उपाय त्यसबेला थिएन । तर २०१० सालको निर्वाचनमा भने बहुदलीय व्यवस्था आइसकेको र प्रेस स्वतन्त्रता रहेकाले निर्वाचनमा संचारमाध्यमले खेलेको भूमिकाका बारेमा बुझ्न र खोज्न सकिन्छ । २००७ साल पछि नेपालमा थुप्रै राजनीतिक परिवर्तनहरु भए । राजनीतिक संघर्ष र सत्ता संचालकहरुको रणनीतिका कारण मिडियाको भूमिका निक्र्यौल गर्दै गएको इतिहास छ ।

Advertisement

०७ साल पछिका सबै राजनीतिक घट्नाक्रम र भएका निर्वाचनहरुमा मिडियाको भूमिका एकनास देखिदैन । स्वतन्त्रतालाई संकुचित गर्ने, मिडियालाई नियन्त्रण गर्ने, बन्देज लगाउने जस्ता घट्नाहरु २०१८ पछि लगभग दुई दशक कायम रहेको पाइन्छ । पंचायती शासनकालमा भएका निर्वाचनहरुमा मिडिया स्वतन्त्र हुनै पाएनन् । आफ्नो भूमिका र योगदानलाई प्रश्तुत गर्न सकेनन् वा पाएनन् । किनकी त्यसबेला नेपाली प्रेसमा एक किसिमको नियन्त्रण थियो । २०४६ पछि भने प्रेस स्वतन्त्रताको पूर्ण अभ्यास हुन थाल्यो र संचारमाध्यमहरुको विकासले गति लिएको पाइन्छ । त्यसपछिका हरेक निर्वाचनमा मिडियाको भूमिकाका बारेमा सत्ता संचालक र राजनीतिक दलहरु सचेत देखिदै आएका छन् । साथै आम निर्वाचनका बेला मतदाता कस्तो सूचना ग्रहण गरिरहेका छन भन्ने विषय गम्भीर बहसको विषय बन्न सक्छ ।

आम संचारमाध्यमको विकास, सूचना प्रविधिको विकास, सामाजिक संजाल प्रयोगकर्ताहरुको संख्यामा बृद्धि साथै संचारमाध्यमहरुमा राजनीतिक दलहरुको प्रभावकारिताका कारण निर्वाचन निष्पक्ष हुन्छ कि हुँदैन भन्नेमा धेरैलाई शंका जन्माएको छ । मताधिकारलाई नागरिक अधिकार प्रयोग भन्दा दुरुपयोग गर्नेक्रम बढेको, नियमन गर्ने निकाय र व्यक्तिहरुले अधिकार दुरुपयोगमा आँखा चिम्लनुपर्ने अवस्था बन्दै गएकाले स्वतन्त्र र निष्पक्ष निर्वाचनमा समस्या उत्पन्न हुने हो कि भन्नेमा धेरैलाई डर छ । त्यसैले यस्तो बेला जनअधिकार संरक्षण गर्नेगरी निर्वाचन हुनुपर्छ भन्नेमा मिडिया शसक्त रुपमा उभिनसक्नुपर्छ । निर्वाचनलाई जनपक्षीय बनाउनका लागि निर्वाचन आयोग, राज्यका निकाय साथै मिडियाहरुको भूमिका महत्वपूर्ण हुने भएकाले यसका लागि भिन्नै रणनीति बनाउनु जरुरी देखिएको छ ।

हिजोआज मिथ्था सूचनाले मतदातालाई भ्रमित बनाउने गरेको प्रशस्त घट्नाहरु छन् । उम्मेद्वारको ‘भक्तिगान’ वा प्रशंसा मात्र लेख्ने चलनले प्राथमिकता पाउने गरेको छ । उम्मेदवारका बारेमा जानकारी दिने नाममा पत्रकारिताको मर्म र आचार संहिता दुरुपयोग गर्नेक्रम बढ्दो छ । यसतर्फ उम्मेदवार र संचारकर्मी दुवै जिम्मेवार बन्नु जरुरी छ । हुनत आमसभा, भेला, गर्नुभन्दा कुनै सञ्चार माध्यममा दिएको अन्तरवार्ता वा कुराकानी निकै प्रभावकारी हुने गर्दछ । किनकी डिजिटल प्लेटफर्महरुले यसलाई व्यापकता दिइरहेको छ । यिनै तथ्य र जानकारीका आधारमा विज्ञापन दिनुभन्दा उम्मेदवारहरु सञ्चारमाध्यमा प्रस्तुत हुने इच्छा व्यक्त गर्ने गर्छन । सञ्चारमाध्यमलाई आफ्नो नियन्त्रणमा राख्ने वा प्रभावमा राख्ने उम्मेदवार हरप्रयास गरिरहेका हुन्छन् । तर संचारकर्मी वा मिडिया हाउसहरु उम्मेदवारहरुबाट प्रभावित हुनु गम्भीर भूल हुनेछ । यस्तो बेला सञ्चारकर्मी र सञ्चारमाध्यमहरुको इमान्दारिता, निष्पक्षता र उत्तरदायित्वको प्रश्न सिर्जना हुने गर्दछ, त्यसैले सचेत हुनु अनिवार्य छ ।

यहाँ उम्मेदवारको मात्र सवाल रहेन । निर्वाचन निष्पक्ष र भयरहित बनाउने राष्ट्रिय जिम्मेवारी सञ्चारकर्मीहरुको पनि हो । निर्वाचनको समयमा सम्प्रेषण गरिने समाचारको विषयवस्तु, तथ्यांक, सूचना, दुष्प्रचार, घृष्णास्पद अभिव्यक्तिको नियन्त्रणजस्ता कुराहरु महत्वपूर्ण हुने गर्दछन् । यसतर्फ सञ्चारकर्मीको ध्यान जानुपर्छ । कुनै उम्मेदवारको विपक्षीलक्षित धारणालाई कुन रुपमा पाठक, दर्शक, श्रोता वा भ्यूअर्समाझ पुर्‍याउने भन्ने विवेक सञ्चारकर्मीले पुर्‍याउनै पर्दछ । घृणात्मक अभिव्यक्तिलाई जस्ताको तस्तै समाचार बनाउने हो भने द्वन्द्व बढ्ने खतरा हुन्छ । यस्तो बेला सञ्चारमाध्यम र सञ्चारकर्मीहरु समाज वा राष्ट्रप्रति बढी जिम्मेवार भएर प्रश्तुत हुनुपर्छ ।

मिथ्था सूचना नियन्त्रण

नेपाल दूरसंचार प्राधिकरणको पछिल्लो तथ्याकंलाई हेर्ने हो भने ९७.४२ प्रतिशत जनसंख्यामा मोबाइल इन्टरनेटको पहुँच विस्तार भइसकेको छ । जसमध्ये डेढ करोड बढी नेपालीहरु सामाजिक संजालका सक्रिय प्रयोगकर्ता छन् । पछिल्लो समय सामाजिक संजालमा आइरहेका सामग्रीहरुबाट प्रयोगकर्ताले सूचना लिइरहेका छन् । पर्याप्त डिजिटल साक्षारता नहुँदा मिथ्था सूचनाको भ्रममा प्रयोगकर्ताहरु परिरहेको अध्ययनले देखाएको छ । जसका कारण समाजमा हिंसा फैलिने, घृणा, द्वेष फैलाउने वा विभिन्न जातजाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने जस्ता जघन्य कामहरु भइरहेका छन् । त्यतिमात्र होइन राजनीतिक व्यवस्थामा नै असर पर्ने विश्लेषण भइरहेको छ । राजनीतिक विश्लेषकहरुले त सामाजिक सञ्जालमा फैलिने मिथ्था सूचनाका कारण लोकतन्त्र नै कमजोर हुने हो कि भन्ने चिन्ता व्यक्त गरिरहेका छन् ।

अब रहयो निर्बाचनको कुरा । निर्वाचनको समयमा मिथ्था सूचना रोक्न सबैभन्दा ठूलो चुनौति थपिएको छ । राजनीतिक दल र तिनका कार्यकर्ताबाट आइरहेका सूचनामा मिडियाहरु भर पर्ने परम्परा रहेका कारण मिडियाबाटै मिथ्था समाचारहरु सम्प्रेषण भइरहेका छन् । मिथ्था सूचनाका कारण लोकतन्त्रका स्तम्भहरु कमजोर हुने भएकाले सूचना सम्प्रेषणमा ‘क्रस चेक’ अत्ति आवश्यक देखिएको छ । मिडियाको अर्को महत्वपूर्ण दायित्व भनेको दलीय प्रभावमा नपर्नु हो । निर्वाचनको समयमा दलीय प्रभावलाई सन्तुलनमा मात्र राख्न सक्यो भने निर्वाचनलाई निष्पक्ष बनाउन भूमिका खेल्न सकिन्छ । किनकी मुलुकलाई दिशा निर्देश गर्ने निर्वाचन नै निष्पक्ष र स्वस्थ्य नहुनु भनेको मिडियाहरु च्यूत हुनु वा राष्ट्रप्रति बफादार नबन्नु हो । त्यसैले निर्वाचन निष्पक्ष गराउन मिडियाकर्मी तटस्थ र जिम्मेवार बन्नैपर्छ ।

डिजिटल प्लेटफर्मको सदुपयोग

प्रविधि साथै दूरसञ्चार क्षेत्रको द्रुत विकासले गर्दा सूचना प्रविधिको प्रयोग व्यापक हुँदै गएको छ । हरेक सरकारी वा निजी क्षेत्र तथा निकायका कार्यहरु प्रविधिमा आधारित बन्दै गएका छन् । त्यस्तै सूचना तथा संचार प्रविधिमा आएको क्रान्तिका कारण नेपालमा इन्टरनेट मुख्य सञ्चारमाध्यमको रुपमा विकास हुँदै गइरहेको छ । हुनत सरकारले नेपाललाई ‘डिजिटल नेपाल’मा रुपान्तरण गर्ने योजना अघि बढाएर ‘डिजिटल नेपाल फेमवर्क २०७६’नै तयार गरिसकेको छ । यसको अर्थ अबको युग डिजिटलको युग हो । निर्वाचनका बेला सञ्चारकर्मीहरुले डिजिटल मिडियाहरुलाई सही ढंगले बढी भन्दा बढी प्रयोग गर्नुपर्ने आवश्यक्ता खड्किएको छ । निर्वाचनलाई निष्पक्ष, भयरहीत र स्वस्थ्य रुपमा सम्पन्न गर्न सञ्चारमाध्यमहरुले सही सूचना आफ्ना डिजिटल प्लेटफर्ममार्फत प्रवाह गर्न सहयोग गर्नुपर्छ ।

सुचना लिनका लागि फेसबुक, ट्वीटर, इस्टाग्राम, युट्यूब जस्ता सामाजिक संजालजस्ता प्लेटफर्महरुको प्रयोग अनिवार्य भइसकेको छ । फेसबुक अन्तर्गत बनेको ग्रुप तथा पेजहरु सूचना आदन प्रदान गर्ने, गतिविधि र तस्वीरहरु सार्वजनिक गर्ने छरितो माध्यम बनिरहेका छन् । त्यसकारण यस्ता माध्यमहरुमा सञ्चारकर्मीहरुले निर्वाचनबारे जानकारीमूलक सन्देशरु प्रवाह गर्नुलाई आफ्नो दायित्व सम्झनसक्नुपर्छ ।

सामाजिक संजालमार्फत गैरकानुनी गतिविधि बढीरहेकाले अनलाइनमा पनि सोही सूचनालाई आधार मानेर अपुष्ट र नियोजित समाचार पोस्ट गर्ने, फेसबुक तथा टवीटरमा व्यक्तिको मर्यादामा आँच आउनेजस्ता सामग्री पोस्ट गर्ने, भद्दा टिप्पणी गरेर व्यक्ति तथा संस्थाको इज्जतमा दाग लगाउने प्रवृत्ति बढीरहेकाले मिडिया र मिडियाकर्मी यसमा सचेत रहनुपर्छ ।

गम्भीर बन्नुपर्ने विषय

विश्वका सबै आमसंचारका माध्यमहरु डिजिटल भइसकेका छन् । सामाजिक संजालसँग जोडिनु अनिवार्य र बाध्यकारी भइसकेको छ । आम नागरिकलाई लोकतन्त्र वा वयक्तित स्वतन्त्रताको उपयोग गर्न यस्ता प्लेटफर्महरु उपयोगी देखिएका छन् । तर बेलाबखत सामाजिक संजालमा हुने गरेका भाइरल कन्टेन्टहरुले व्यवस्थामै प्रश्न उठाउने गरेका छन् । झनै निर्वाचनका बेला सम्बन्धित सामग्रीहरु तोडमोडसहित भाइरल भएको भए त्यसलाई सन्तुलन कायम गरेर अन्य सूचनाहरु प्रभाव गर्नु मिडियाको जिम्मेवारी भित्र पर्दछ । पत्रकार आचार संहिता एउटा माध्यम मात्र हो । आफैं सचेत जिम्मेवार बनेर अनुशासित बन्नु सञ्चारकर्मीको अर्को दायित्व हो ।

त्यसैले निर्वाचन निष्पक्ष बनाउन दबाब सिर्जना गर्ने, मतदान व्यवस्थित भए नभएको अनुगमन गर्ने, निर्वाचन प्रक्रिया विधिसम्मत भए नभएको अनुगमन गरेर सत्य तथ्य सूचना सार्वजनिक गर्ने जिम्मेवारी सञ्चारमाध्यम र संचारकर्मीले निर्वाह गर्नुपर्छ । निर्वाचनको बेला पत्रकारिताको मर्यादा जोगाउने, जिम्मेवारी बहन गर्ने र आचार संहिताको पालना गर्ने मात्र नभइ निर्वाचन सम्पन्न गराउने जिम्मेवारी संचारकर्मीको काँधमा छ ।