April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

निर्णयमा नचल्ने भएपछि ओलीसँग भेट्नुको अर्थ छैन: प्रचण्ड

२०७७ कार्तिक १५

5.3K

काठमाडौँ – प्रधानमन्त्री एवम्‌ नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको दूरी बढेको छ। पार्टीभित्रका निर्णय कार्यान्वयन गराउन नसक्दा सत्तारूढ दलका अध्यक्षद्वयबीच असमझदारी थपिएको हो।

कर्णाली प्रदेश सरकार परिवर्तन गर्ने विषयमा भएको विवादलाई लिएर प्रधानमन्त्री ओली र अध्यक्ष दाहालले बेग्लाबेग्लै पत्र काटेपछि यतिखेर दुई नेताबीच भेटवार्तामा समेत ब्रेक लागेको छ। त्यसो त यसअघि पनि राजदूत नियुक्ति, मन्त्रिपरिषद् पुनर्गठन लगायतका विषयमा अध्यक्ष दाहाल ओलीसँग रुष्ट बनिरहेका थिए।

कात्तिक ३ गतेदेखि प्रधानमन्त्री ओली र प्रचण्डबीच भेटवार्ता भएको छैन। 

Advertisement

दाहाललाई फकाउन दिनहुँ धाउँदै ओलीनिकट नेता

दूरी बढेपछि अध्यक्ष दाहाललाई छलफलका लागि आग्रह गर्न ओलीले आफू निकटका नेताहरूलाई दिनहुँ खुमलटार पठाउने गरेको छन्। 

शुक्रबार प्रधानमन्त्री ओलीले आफू निकटका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई प्रचण्डसँग भेट्न पठाएका थिए। यसअघि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बिहीबार, अर्थमन्त्री एवं पार्टी महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्बाङले प्रचण्डसँग बुधबार छुट्टाछुट्टै भेटवार्ता गरेका थिए। 

पार्टीभित्र लामो संघर्षपछि भदौ २६ गते स्थायी कमिटीले विवाद समाधान गर्नेगरी आवश्यक निर्णय गरेको थियो। तर ओलीले स्थायी कमिटीको निर्देशन विपरीत राजदूत नियुक्ति, कर्णाली विवाद, मन्त्रिपरिषद् पुनर्गठन, रअ प्रमुखसँगको भेट, पर्सा घटनालगायतमा विवादास्पद काम  गरेको भन्दै पार्टीभित्रबाट र सार्वजनिक रूपमै आलोचना भइरहेको छ।

प्रचण्डको एउटै जवाफ

प्रधानमन्त्री ओलीले आफू निकटका नेताहरूलाई भेट्न पठाएपनि प्रचण्डले एउटै जवाफ फर्काउने गरेका छन्। 

‘पार्टीभित्र जतिपनि निर्णय गरेपनि कार्यान्वयन हुँदैन, जतिपटक भेटवार्ता गरेपनि एकलौटी निर्णय गर्ने भएपछि भेटवार्ता गर्नुको अर्थ नभएको अध्यक्ष दाहालले जवाफ दिएका छन्’ स्रोतले भन्यो, ‘भदौ २६ गतेको स्थायी कमिटी निर्णयले पार्टीभित्रको विवाद समाधान गरेर सहमतिमा अघि बढ्ने निर्णय गरेको थियो। तर, उहाँले निर्णय गरेलगत्तै एकलौटी चल्न थाल्नुहुन्छ। त्यसैले भेटवार्ताको अर्थ भएन।’

कन्ट्याक्ट ट्रेसिङको असर : नेम्बाङ 

संसदीय दलको उपनेता सुवासचन्द्र नेम्बाङ चाहिँ स्थायी कमिटी सदस्य जनार्दन शर्माको कन्ट्याक्ट ट्रेसिङमा परेको कारणले दुई अध्यक्षबीच भेटवार्ता रोकिएको तर्क गर्छन्। 

‘जनादर्नजीलाई कोरोना संक्रमण देखिएपछि उहाँ (प्रचण्ड) पनि कन्ट्याक्ट ट्रेसिङमा पर्नुभएको छ। त्यसैले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्न बालुवाटार नआउनुभएको हो,’ उनले थाहाखबरसँग भने, ‘आइसोलेसनमा बसेको बेलामा भेटवार्ताका लागि हिंड्न पनि भएन।’ 

प्रचण्डले आफूलाई बुधबार खुमलटार बोलाएका र समसामयिक विषयमा छलफल भएको तथा सो भेटमा प्रचण्डले आफू कन्ट्याक्ट ट्रेसिङमा परेको कारणले तत्काल बालुवाटार आउन नसक्ने बताएको नेम्बाङले जानकारी दिए। thahakhabar