लन्डन । दक्षिण कोरियाको राजधानी सउलमा ह्यालोविन पर्वका अवसरमा भेला भएको एउटा भीडमा भागदौड हुँदा कम्तीमा १ सय ४९ जनाको मृत्यु भएको छ । शनिबार राति भएको भागदौडमा किचिएर कम्तीमा १५० जना घाइते भएको जनाइएको छ ।
कोभिड प्रतिबन्धका कारण दुई वर्षसम्म हुन नसकेको ह्यालोविन उत्सबमा प्रतिबन्ध फुकुवासँगै यस वर्ष मानिसहरुको ठूलो उपस्थिति रहेको थियो । जहाँ करिब १ लाख भीड जम्मा भएको थियो ।
द कोरिया हेराल्डका अनुसार स्थानीय समयअनुसार मध्यरातभन्दा ठीक अघि दर्जनौं मानिस एक होटलनजिकै बेहोस भएका थिए । एक घन्टामै एक सयभन्दा बढी मानिसको मृत्यु भइसकेको थियो । भागदौडबीच केही मानिसहरुलाई ह्दयघात भएको थियो ।
भागदौडमा घाइते हुनेहरुमा अधिकांश २० देखि ३० वर्षका युवतीहरु रहेको प्राप्त विवरणमा जनाइएको छ । भागदौडका कारण ठूलो मानवीय क्षति भइरहदा घटनास्थलमा १४० भन्दा बढी एम्बुलेन्स परिचालन गरिएको थियो ।
दर्जनौं शवहरू पहिले नजिकैको इनडोर व्यायामशालामा लगिएको थियो, जहाँ परिवारहरू रातभर भेला भएका थिए । व्यायामशालाका अधिकारीहरूका अनुसार ती पीडितहरूलाई आइतबार बिहान आफन्तले लगेका थिए ।
बेलायतका प्रधानमन्त्री, ऋषि सुनकले दक्षिण कोरियालीहरूप्रति समवेदना प्रकट गरेका छन् । उनले दक्षिण कोरियालीहरु यसबेला धेरै दुःखको समयमा रहेका सामाजिक संजालमा लेखेका छन् ।