November 24, 2025, Monday
२०८२ मंसिर ९
1:37:26 pm

नेपालमा २१०० सम्ममा गरिबी शून्यमा झार्ने लक्ष्य

1.2K

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले वि.स. २०८७ सम्ममा गरिबीको रेखामुनि रहेको जनसङ्ख्या ५ प्रतिशतभन्दा तल र वि.स.२१०० सम्ममा शून्यमा झार्ने लक्ष्य लिई गरिबी निवारणसम्बन्धी विभिन्न कार्यक्रम कार्यान्वयन गरिरहेको बताएका छन् ।

गरिबी निवारण नीति, १५औँ योजना, दिगो विकास लक्ष्य, सार्क तथा बिमस्टेक गरिबी निवारण कार्ययोजना अन्तर्गत गरिबी निवारणका कार्यक्रम अगाडि बढाइरहेको उनले बताए ३०औँ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस २०२२ को अवसरमा सोमबार शुभकामना मन्तव्य दिंदै देउवाले यस्तो बताएका हुन् ।

नेपालले विसं २०८३ मा अति कम विकसित मुलुकबाट स्तरोन्नति हुने र २०८७ भित्रै दिगो विकासका लक्ष्य प्राप्त गरी नेपालीको आय स्तरमा सुधार भई मध्यम आय स्तरमा भएको मुलुकमा रूपान्तरित हुने अपेक्षा लिएको छ ।

Advertisement

नेपाल सरकारले गरिबी निवारणका लागि सहकारी क्षेत्रलाई एउटा प्रमुख माध्यम बनाई यसलाई उद्यमशीलता, उत्पादन र रोजगारीसँग आबद्ध गर्ने नीति लिएको शुभकामना मन्तव्यमा उल्लेख गरिएको छ ।

मुलुकभरका गरिब घर परिवार पहिचान गर्दै गरिब तथा विपन्न घरपरिवारलाई राज्य सुविधा परिचयपत्र वितरण गरी राज्यद्वारा प्रदत्त सेवा सुविधालाई सोही परिचय पत्रसँग आबद्ध गर्ने र विपन्न परिवारको संरक्षण गरी गरिबीको रेखाबाट बाहिर ल्याउने नीतिलाई सघनता साथ अघि बढाएको प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ ।