April 24, 2024, Wednesday
२०८१ बैशाख १३
1:37:26 pm

उम्मेदवारको सुराकी गर्न टोली खटाउने तयारी, आठ आयोग पनि एक्सनमा

1.6K

काठमाडौं । निर्वाचन आयोगले ४ मंसिरमा हुन लागेको प्रदेश तथा प्रतिनिधिसभा सदस्यको चुनावमा राष्ट्रिय अनुसन्धान विभागलाई दलहरुका उम्मेदवारको सुराकीका लागि प्रयोग गर्ने भएको छ । त्यस्तै आठ अधिकारमुखी संवैधानिक आयोगहरुले निर्वाचनको संयुक्त रुपमा अनुगमन तथा मूल्यांकन गर्ने भएका छन्।

आयोगका सह–सचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले राजनीतिक दलले निर्वाचनमा गरेको खर्च तथा आचारसंहिता पालनाको सन्दर्भमा गहन र सुक्ष्म अध्ययन तथा निगरानीका लागि राष्ट्रिय अनुसन्धान विभागलाई प्रयोग गर्ने निर्णय भएको बताए ।

‘निर्वाचन आचारसंहिता, २०७९ को दफा ४२ बमोजिम आयोगमा विवरण उपलब्ध गराउन गृह मन्त्रालयमार्फत नेपाल प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागलाई लेखी पठाउने निर्णय भएको छ । उम्मेदवार तथा राजनीतिक दलले निर्वाचनमा खर्च गर्दा आयोगले तोकेको सीमाभित्र रही खर्च गरे/नगरेको र निर्वाचन आचारसंहिता पालना भए, नभएको सम्बन्धमा तल्लो तहबाट नै निगरानी गर्नु पर्ने भएकाले सुरक्षा निकायको सहयोग लिनुपरेको आयोगको भनाइछ ।

Advertisement

कतिपयले जानकारहरुले दलहरुको निगरानीका लागि सुरक्षा संयन्त्रलाई प्रयोग गर्नु गलत भएको बताएका छन् । यसअघि आयोगले चुनावी आचारसंहिता अनुगमन गर्ने जिल्ला समितिको संयोजक प्रमुख जिल्ला अधिकारी (प्रजिअ) लाई दिने तयारी गरेको थियो । तर यसप्रति राजनीतिक दल र विज्ञहरुले आपत्ति जनाएका थिए । हाल जिल्ला अनुगमन समितिको संयोजक मुख्य निर्वाचन अधिकृत (न्यायाधीश) रहने व्यवस्था छ ।

यता, राष्ट्रिय मानव अधिकार आयोग, मधेशी आयोग, महिला आयोग, थारु आयोग, समावेशी आयोग, मुस्लिम आयोग तथा दलित आयोगका अध्यक्षहरुको बैठकले निर्वाचनको अनुगमनका लागि सबै आयोगले एउटा संयुक्त संयन्त्र बनाएर निर्वाचनको अनुगमन गर्ने तथा सोको मूल्यांकन गरी सरकारसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।