April 18, 2025, Friday
२०८२ बैशाख ५
1:37:26 pm

मतपत्र ढुवानी शुरू, नेपाली सेनाले स्कटिङ गरेर मतपत्र जिल्ला जिल्लामा लैजाने

2K

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि निर्वाचन आयोगले मतपत्र ढुवानी शुरू गरेको छ । आयोग र नेपाली सेनाको उच्च स्तरीय टोलीको बैठकपछि मतपत्र ढुवानी शुरू भएको हो ।

जनकशिक्षा सामग्री केन्द्र लिमिटेडले छपाइ गरेको ४ करोड थान मतपत्र सोही स्थानबाट ढुवानी हुनेछ । जनक शिक्षाले मतपत्र छपाइसँगै प्याकिङ गरेको थियो । प्याकिङ भएका मतपत्र नेपाली सेनाको स्कटिङमा निर्वाचन आयोगका प्रतिनिधिले जिल्ला निर्वाचन कार्यालयमा पुयाउने व्यवस्था गरिएको छ ।

जनक शिक्षामा जनक शिक्षा, निर्वाचन आयोगका अधिकारी, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको बैठकलगत्तै मतपत्र ढुवानी शुरू गरिएको हो । जनक शिक्षाका अनुसार मतपत्र ढुवानी गर्न कम्तीमा पनि दुई साता लाग्ने अनुमान गरिएको छ ।आयोगले हिमाली जिल्लाका मनाङ, मुस्ताङ, मुगुलगायतका जिल्लामा हेलिकोप्टरबाट ढुवानी गर्नेछ । बाँकी जिल्लामा सेनाको स्कटिङका साथ सवारी साधनले ढुवानी गर्नेछ ।

Advertisement

आयोगले जिल्लामा रहेको मुख्य निर्वाचन कार्यालयमा पुर्‍याएको मतपत्र सो कार्यालयले मतदान केन्द्रमा पुर्‍याउने व्यवस्था गर्नेछ । जनक शिक्षाले आयोगका कर्मचारीको सहयोगमा मतदाता संख्याको आधारमा प्याकिङ सम्पन्न गरेको छ । यसैबीच जनक शिक्षाले आजबाट प्रत्यक्ष तर्फको मतपत्र छपाइ गर्ने भएको छ । दशैंअघि सामानुपातिकतर्फको ४ करोड मतपत्र छपाइ पूरा गरेको केन्द्रले प्रत्यक्षतर्फको छपाइ शुरू गर्न लागेको हो । केन्द्रले करिब एक महिना लगाएर समानुपातिकतर्फको मतपत्र छपाइ पूरा गरेको थियो ।

देशभर प्रत्यक्षतर्फ २ हजार ४ सय १२ र प्रदेशतर्फ ३ हजार २ सय २४ उम्मेदवारको नामसहितको छाप्न मिल्ने गरी मतपत्र तयार गरिसकेको छ । जनक शिक्षाले प्रत्यक्षतर्फ ४ करोड थान मतपत्र छपाइ गर्ने जनाएको छ । मतपत्र छपाइ सुरक्षार्थ सुरक्षण मुद्रणालयमा ५० र अन्य स्थानमा गरी करिब ६५ सीसीटिभीले निगरानी गरेको छ । मतपत्र छाप्न केन्द्रका करिब २ सय कर्मचारी खटिएका छन् । मुद्रणालयमा प्रवेश गर्दा नेपाली सेनाले सम्पूर्ण सुरक्षा जाँच गर्नेछ ।