January 13, 2025, Monday
२०८१ माघ १
1:37:26 pm

नेपालमा गान्धी जयन्ती : निमुखा जनताको पक्षमा राजनीति गर्न सुझाव

२०७९ आश्विन १४

1.6K

काठमाडौं । नेपालमा प्रथम राष्ट्रपति डा.रामवरण यादबले महात्मा गान्धीले समातेको बाटोलाई अवलम्बन गर्दै निमुखा जनताको पक्षमा राजनीति गर्ने बेला आएको बताएका छन् ।

१५३औं गान्धी जयन्ती अर्थात अहिंसा दिवसका अवसरमा नेपाल चर्खा प्रचारक गान्धी तुलसी स्मारक महागुठी अन्तर्गतको तुलसी मेहेर महिला आश्रमले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै डा।यादवले अहिलेका युवाले देशका निमुखा जनताको पक्षमा राजनीति गर्न सुझाव दिए । उनले भने,‘निमुखामाथि करुणा नराख्ने राजनीति, राजनीति होइन । राजनीतिबाट मोक्ष प्राप्ती हुन्छ । त्यसैले हामीले राजनीति गर्ने भनेको समाजका लागि, देशका लागि, विश्वका लागि गर्ने हो । गान्धीजीले निमूखाका लागि राजनीति गर्नुपर्छ भन्नुभयो । आजका युवा भाइहरुले निमुखाका पक्षमा राजनीति गर्नुपर्छ ।’

कुनै पनि प्रश्न बिना जीवनको अर्थ छैन भन्दै उनले मानव जातीले जल, जमिन, हावालगायत प्राकृतिक विनाश निम्त्याउँदा विश्वमा खाद्य सङ्कट, इन्धन सङ्कट बढ्दै जाँदा विश्वमा करोडौँ मानिस भोकमारीको चपेडामा परिरहँदा युक्रेन र रुसको युद्धले विश्व आक्रान्त बनेको बताए । गान्धीजीले गरेका हरेक आन्दोलन जनतासँग जोड्दै गएको प्रसंग उल्लेख गर्दै डा।यादबले गान्धीको बाटो अवलम्बन गर्न युवाहरुलाई सुझाव दिए ।

Advertisement

कार्यक्रममा दिल्ली विश्वविद्यालयका प्राध्यापक एवम गान्धीवादी चिन्तक रामचन्द्र प्रधानले राजनीतिको उद्देश्य सत्ता प्राप्ति नभएर लोकसेवा, जनसेवा हुनुपर्ने औंल्याए । गान्धी पुरी आश्रमका संस्थापक अध्यक्ष अगष्ट इन्द्र उदियानले गान्धीको दर्शन अहिले विश्वका लागि उपयोगी र व्यवहारिक भएका बताए । पद्मश्री विजेता उदियानले कोरोनाले गर्दा गान्धीले सिकाएका पाठहरू सिद्ध गरेको बताए । भारतीय राजदूतावासका डेपुटी चिफ अफ मिसनका प्रतिनिधि प्रसन्न श्रीवास्तबले नेपालमा गान्धीको दर्शन र अहिंसाको बाटोलाई अवलम्बन गर्दै लैजानु सान्दर्भिक भएको बताए ।

गान्धी तुलसी दर्शन अध्ययन कार्यक्रमका संयोजक एवम गान्धी दर्शनका अध्येता शंकर तिवारीले कुनै पनि कोरा राजनीतिले मात्र समाज परिवर्तन नहुने भएकाले गान्धीले अघि बढाउनु भएको सामाजिक आन्दोलनले मात्र नागरिकका हरेक मुद्दा सम्बोधन गर्न सकिने बताए । नेपालका महात्म गान्धी भनेर चिनिएका तुलसी मेहेर श्रेष्ठले नेपालमा थाल्नुभएको सामाजिक जागरण अभियान स्वरुप नेपाल चर्खा प्रचारक गान्धी तुलसी स्मारक महागुठी स्थापना गरेको चर्चा गर्दै महागुठीको अस्थित्वलाई जोगाउन राजनीतिलाई ढोका बाहिर राखेर संस्था जोगाउन आब्हान गरे ।

कार्यक्रममा जापानी नागरिक किसिमोटो आगुमी, नानाका हिगुची, पूर्व सङ्घीय सांसद दीपक कुइँकेल, कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्की, विभिन्न राजनीतिक दलका प्रतिनिधिलगायतले गान्धीले ल्याएको स्वतन्त्रताका बारेमा चर्चा गरेका थिए । कार्यक्रमका सभापति एवं महागुठीका अध्यक्ष उदयमोहन श्रेष्ठले नेपाल चर्खा प्रचारक गान्धी तुलसी स्मारक महागुठीले यहाँको विकासमा पुर्‍याएको योगदानको चर्चा गरे ।