काठमाडौं : नेपाली कांग्रेसका नेता शेखर कोइराला र महामन्त्री गगन थापा समूह आन्दोलनरत छ। पार्टीको आन्तरिक एकता, समान अवसर र न्यायको निम्ति भन्दै असन्तुष्ट भएर पार्टीविरुद्ध आन्दोलनमा उत्रिएको हो।
उनीहरूले बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्नासमेत दिएका छन्। धर्नामा सहभागी नेताले आसन्न प्रतिनिधिसभाको निर्वाचन प्रयोजनका लागि समानुपातिकको बन्द सूचीमा संस्थापन पक्षले एकलौटी गरेकाले धर्नामार्फत खबरदारी गर्न बाध्य भएको बताएका छन्।
पार्टीभित्र सबैलाई न्याय र समान अवसर हुनुपर्ने आफूहरूको मनसाय रहेको नेता जगदीश नरसिंह केसीले बताए। शेखर कोइराला पक्षका नेताहरूको नाम समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित नहुने गरी बन्द सूचीमा राखिएको उनको आरोप छ।
‘समान न्याय र अवसरका लागि, पार्टीभित्र सबैलाई न्याय होस्। सबैले समान अवसर पाउन् भन्ने नै हाम्रो मनसाय हो। जुन परिस्थिति सिर्जना भयो‚ समानुपातिकको नामावली सूचीपछि हामीलाई अलिकति सशंकित बनायो। किनभने समानुपातिक सूचीमा जसरी नाम राखिएको छ‚’ उनले भने, ‘निर्वाचित नहुनेगरी केही साथीहरूको नाम छ। त्यसको अर्थ नाम झुन्डियाइदिएको छ तर त्यो नाम निर्वाचित हुन सक्दैन।’
समानुपातिक बन्द सूचीमा रहेका नामहरू सच्याउनुपर्ने र प्रत्यक्षमा टिकट दिँदा पनि संस्थापनइतर समूहलाई समान अवसर दिनुपर्ने आफूहरुको माग रहेको उनीहरूले उल्लेख गरे।
पार्टीको इतर समूहका नेता समानुपातिकतर्फबाट कोही पनि निर्वाचित नहोस् र भोलि प्रत्यक्ष टिकट दिँदा पनि हरेक ठाउँमा त्यही ढंगले अन्यायपूर्वक निर्णय हुन थाल्ने उनीहरूको आशंका छ।
‘पार्टीभित्र त्याग, तपस्या, बलिदान, निष्ठा, आदर्श, लोकप्रियता, जनप्रियता, जनताको बीचमा रहेका, टिकट दिँदा त्यस्ता मान्छेले पाउनुपर्छ। टिकट दिँदा कोही समूहका नाममा, आफ्नो मान्छेका नाममा बलजफ्ति थोपर्नु हुन्न। टिकट दिँदा जनप्रिय मान्छे, चुनाव जित्न सक्ने मान्छे चाहिन्छ भन्ने हाम्रो मान्यता हो‚’ उनले भने, ‘समानुपातिक सूची नसच्याउने संस्थापन पक्षको एक भए हाम्रो दुई हुनु पर्यो। उहाँहरूको तीन भए हाम्रो चार हुनु पर्यो। यसरी सच्याउनुपर्छ भन्ने हाम्रो पार्टीलाई आग्रह हो‚ अनुरोध हो।’
समानुपातिक निर्वाचन प्रणालीको बन्द सूची हेर्दा संस्थापनइतर समूहलाई बाहिर राख्ने प्रयास गरेको देखिएको नेता अजयबाबु शिवाकोटीले बताए। बन्द सूचीको नाम नसच्याएमा पार्टी सक्किने बाटोमा जाने उनले बताए।
‘निर्णय प्रक्रियाबाट एउटा पक्षलाई बाहिर राख्ने प्रयास जस्तो देखियो‚ समानुपातिकको बन्द सूचीको लिस्टबाट। यसमा आम कार्यकर्ताको दबाब सच्याउनुपर्छ भन्ने छ। सच्याइएन भने यसले पार्टीलाई सक्ने बाटोमा लान्छ‚’ उनले चेतावनी दिँदै भने।
कांग्रेस कसैको व्यक्तिगत पार्टी नभएका नेता भूपेन्द्रजंग शाहीले नेपाली टिप्पणी गरे। पार्टीको अधिवेशनमा अरुलाई भोट दिएको आधारमा नेताहरूको राजनीतिक हत्या गर्न खोजिएको भन्दै यस्तो कामले पार्टीलाई कमजोर बनाउने बताए।
‘समान अवसर र न्यायको खाँचो छ। यो कसैको व्यक्तिगत पार्टी होइन। यो पार्टीमा लाग्ने हरेकको यो पार्टीमा उत्तिकै अधिकार छ र हरेक कार्यकर्ताको मूल्यांकन हुन जरुरी छ। मापदण्ड बनाउनु जरुरी छ‚’ उनले भने, ‘हिजो त्याग गरेका मानिसहरुले अधिवेशनमा कसलाई भोट दिए, कसलाई भोट दिएनन् भन्ने आधारमा उनीहरुको राजनीति सक्न खोज्ने, उनीहरुको राजनीतिक हत्या गर्न खोज्ने, उनीहरुलाई किनारामा लाउन खोज्ने काम भइरहेको छ।’
उनले पार्टीभित्र हरेक कार्यकर्ताहरूको मूल्यांकन गर्ने मापदण्ड बनाउनु जरुरी रहेको बताए।
समानुपातिकको बन्द सूचीमा शेखर कोइराला समूहका १३ जनालाई मात्रै राखिएको भन्दै यो समूह असन्तुष्ट बनेको छ। धर्नामा शेखर पक्षका दोस्रो तहका नेताहरु सहभागी छन्।