November 24, 2025, Monday
२०८२ मंसिर ८
1:37:26 pm

बडादशैं शुरु, घर-घरमा घटस्थापना गरेर जमरा राखिंदै

3.6K

काठमाडौं । नवरात्रको पहिलो दिन आज सोमबार नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर नवदुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गर्दै छन् । बडा दशैंको पहिलो दिन भएकाले घर-घरमा देवी दुर्गा भगवतीको प्रतीमा स्थापना गरी घटस्थापना गरेर जमरा राखिंदै छ ।

घरको पूजा कोठा वा दसैँ घरमा विधिपूर्वक घटस्थापना गरेपछि शैलपुत्री देवीलाई आह्वान गरी पूजा आराधना गरिन्छ । नवदुर्गामध्येकी पहिलो देवी शैलपुत्री दुर्गाको नौ मूर्तिमध्येको एक हो ।

गिरिराज हिमालयकी पुत्री पार्वतीदेवी नै शैलपुत्री भएको देवी कवच, मार्कण्डेयलगायत पुराणआदि ग्रन्थमा उल्लेख गरिएको छ । शैलपुत्री देवीलाई सबैकी अधिश्वरीका रूपमा पूजा आराधना गरिन्छ ।

Advertisement

हिमालयको तपस्या र प्रार्थनाले शैलपुत्री देवी प्रसन्न भएर उहाँको पुत्रीका रूपमा उत्पन्न भएको पनि विभिन्न पुराणमा उल्लेख गरिएको छ । आज घटस्थापनासँगै काठमाडौं उपत्यकालगायत देशभरका शक्तिपीठमा पूजा, आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ ।

घटस्थापनाको शुभ साहित आज बिहान १० बजेर २३ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णयक विकास समितिले जनाएको छ । सोही समयमा घरघरमा घटस्थापना सहित जमरा राखिंदै छ । काठमाडौंको हनुमानढोकास्थित दशैँघरमा पनि वैदिक विधिपूर्वक शुभ साइतमा जमरा राखि महाकाली महालक्ष्मी, महा सरस्वतीलगायत नवदुर्गा र अन्य शक्तिपीठहरूमा नवरात्रीको पूजा आरम्भ गर्ने गरिन्छ ।