November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

निर्वाचन सिट बाँडफाँट : कांग्रेस भित्रै विद्रोह र विग्रहको खतरा

1.6K

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा हालका सभापति शेर बहादुर देउवासँग प्रतिस्पर्धा गरेका डा.शेखर कोइरालाको बेग्लै समूह छ । यो समूह सभापतिको देउवाको पार्टी संचालनको शैलीप्रति जहिल्यै असन्तुष्ट छ । हुनत देउवाको व्यक्तिगत आचरण आफ्ना प्रतिस्पर्धीलाई पेलेरै अघि बढ्ने किसिमको छ । आफ्नो विरोध गर्ने र आलोचना गर्नेप्रति देउवा कहिल्यै सकरात्मक देखिदैनन् । यो उनको व्यक्तिगत आचरण हो । उनको यही आचरण अब आउन लागेको मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा प्रष्ट रुपमा सार्वजनिक गर्दैछन् । जुन सिंगो कांग्रेस पार्टीका लागि घातक सिद्ध हुँदैछ ।

देउवा समूहले प्रतिनिधि सभा र प्रदेश सभाका लागि उम्मेदवार छनोटमा आफ्नो बर्चश्व कायम गर्ने दाउमा छ । तर शेखर समूह त्यसलाई तोड्ने र भत्काउने दाउमा छ । त्यसैले आगामी निर्वाचन नेपाली कांग्रेसका लागि त्यति सन्तोसजनक नहुने आंकलन भइरहेको छ । टिम व्यवस्थापन सबैभन्दा ठूलो चुनौति कांग्रेसमा देखिएको छ । किनकी डा.कोइराला एक सयभन्दा कम सिट लिएर चुनावमा जाने हो भने पार्टीमा विद्रोह हुन सक्ने चेतावनी दिंदै आएका छन् ।

१ सय ६५ निर्वाचन क्षेत्रमध्ये गठबन्धनमा रहेका सबै दललाई भाग पुर्याएर कांग्रेसलाई सय सिट छुट्याउन त्यति सजिलो छैन र संभव पनि देखिदैन । तर गठबन्धन गरेर पनि कांग्रेसले एकल बहुमत ल्याउन नसकेमा विद्रोह र विग्रह हुने बताइरहेका डा.कोइराला बढी भन्दा बढी आफ्ना समूहका नेताहरुलाई दुवै सभाको उम्मेदवार बनाउन चाहन्छन् । त्यसका लागि देउवा समूह त्यति सजिलै लचक हुने स्थितिमा छैन । देउवा बढी भन्दा बढी आफू निकटका नेतालाई टिकट दिने मनस्थितिमा छन् ।

Advertisement

अभिभावकको भूमिकामा रहेका देउवालाई कोइराला समूह व्यवस्थापन ठूलो चुनौति भइरहेको छ । कोइराला समूह व्यवस्थापन नभए देशभरको चुनावी नतिजा अपेक्षित नहुने निश्चित छ । देउवाको पछिल्लो कार्यशैली बुझेर नै कोइराला समूह खबरदारी सभासम्म उत्रिसकेको छ ।

कोइराला समूहले पार्टीभित्र समान अवसर र न्यायका लागि खवरदारी सभा आयोजना गरिरहेको छ । शुक्रबार दिउँसो स्वयंभूमा बसेको भेलाले शनिबार दिउँसो १ बजे बानेश्वर ब्यांकेटमा खवरदारी सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त भेलामा शेखर कोइराला पक्षका केन्द्रीय कार्यसमितिका पदाधिकारीहरु, केन्द्रीय सदस्यहरु, केन्द्रीय सदस्यका उम्मेदवारहरु, जिल्ला सभापतिहरु, प्रदेश सभापतिहरु, भ्रातृ संस्थाका प्रतिनिधिहरुसहित, काठमाडौंमा रहेका टिकटका आकांक्षीहरु उपस्थित रहेका थिए ।

कोइराला समूहले पार्टीभित्र समान अवसर सिर्जना हुनुपर्ने, सबैले न्यायको अनुभूति गर्नुपर्ने र पार्टीभित्रकै ४० प्रतिशत हिस्सेदार समूहलाई बाइपास गर्दै गएकाले खवरदारी सभा गर्नु जरुरी देखिएको निष्कर्ष निकालेको छ । सत्ता गठबन्धनमा दलहरुले प्रतिशत खोज्ने तर पार्टीभित्रै ४० प्रतिशतको हिस्सेदारलाई बाइपास गरेर अगाडि बढ्नु न्यायको खिलाफ हो भन्ने ठानेर नेतृत्वलाई गल्ती महसुस गरी क्रियाकलाप सच्याउन आग्रह गर्दै दबाबका लागि खवरदारी सभा गर्न लागिएको कोइराला समूहको दावी छ ।

केही दिनदेखि पार्टीका कतिपय नेताहरुले अस्वभाविक महसुस गरिरहेका छन् । नेतृत्वले एकलौटी निर्णय गरिरहँदा केबल साक्षीमात्र बस्न गएजस्तो अनुभूति कोइराला पक्षका नेताहरुले गर्दै आएका छन् । सोही कारण महामन्त्री गगनकुमार थापा लगायतका नेताहरु पार्टी सँगसँगै गठबन्धनको बैठकमा सहभागी भएका छैनन् । कोइराला समूहका एक नेताले भने, ‘यस्तै स्थिति रहेर पेलेर जाने हो भने माथि शेखर कोइरालादेखि तल अन्तिम तहसम्मका नेताहरुको उम्मेदवारी नपर्ने अवस्था सिर्जना हुन सक्ने पनि हुने भएकाले नेतृत्वलाई गम्भीर हुन आग्रह गरेका हौं ।’

‘एकलौटी गर्ने, न्याय नगर्ने, असमान व्यवहार गरिरहने र लगातार पेलिरहने हो भने देशैभर विद्रोह हुन सक्ने स्थितिलाई नेतृत्वले गम्भीर रुपमा नलिए कांग्रेसको अवस्था देशैभर बिग्रने निश्चित जस्तै छ’, उनले भने, ‘हिजो मात्रै पनि बागमती प्रदेशभित्र रहेका विभिन्न कमिटीका पदाधिकारीहरुले आफ्ना माग पूरा गर्न दबाब दिएका थिए । यसलाई नै मध्यनजर गरेरै शनिबारको भेलामार्फत खवरदारी गर्न लागिएको हो । नेतृत्वले यसलाई गम्भीरपूर्वक लेओस् भन्ने हो ।’

यता, कांग्रेस नेतृत्वसँगै असन्तुष्टहरुले निर्माण गरेको नेपाली कांग्रेस (बिपी) बेग्लै रणनीतिमा छ । उक्त पार्टीले गठबन्धनमा रहेका दलहरुसँग नभइ प्रमुख प्रतिपक्षी पार्टी नेकपा एमालेसँग तालमेलको तयारी गरिरहेको छ । एमाले अध्यक्ष केपी ओली र कांग्रेस बिपीका वरिष्ठ उपसभापति कर्णबहादुर मल्लबीच छलफल भइसकेको र दुई दलबीच सहकार्य गर्ने सहमति भएको मल्लका स्वकीय सचिव रामबहादुर विष्टले जानकारी दिए।

त्यस्तै कांग्रेस भित्रकै केबी गुरुङ, गोविन्दराज जोशीहरुको समूह, रामचन्द्र पौडेल, डा.शशांक कोइराला, प्रकाशनमान सिंहलगायतका नेताहरुको विभिन्न उपसमूहहरुलाई व्यवस्थापन गर्दै सिट बाँडफाँड गर्न नेतृत्वलाई निकै ठूलो चुनौति रहेकाले आगामी चुनाव कांग्रेसका लागि त्यति सन्तोसजनक नहुने अनुमान गरिएको छ । त्यतिमात्र होइन गठबन्धन नै नरुचाइरहेका ग्रामिण स्तरका कांग्रेस कार्यकर्ताहरुले समानुपातिकको मतमा समेत विवेक प्रयोग गर्न अभियान चलाए भने समानुपातिक मत घट्न सक्ने र त्यसको प्रत्यक्ष फाइदा एमालेले लिने निश्चित देखिएको छ ।