April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

राष्ट्रपतिबाट संविधान उल्लघंन भयो, संघीय संसदको घोर अपमान : गठबन्धन

1.9K

काठमाडौं । सत्तारुढ पाँचदलीय गठबन्धनले राष्ट्रपति विद्यादेवि भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधान उल्लघंन गरेको निष्कर्ष निकालेको छ ।

बुधबार बालुवाटारमा बसेको गठबन्धनको बैठकले संघीय संसदले पास गरेर पठाएको विधेयक प्रमाणीकरण नगर्नु असंवैधानिक भएको ठहर गरेको हो ।

‘राष्ट्रपतिको यो गैरसंवैधानिक कदमबाट जनताले निर्वाचित गरेको संघीय संसदको घोर अपमान र अवमूल्यन भएको छ,’ वक्तव्यमा भनिएको छ। राष्ट्रपतिको यो कदमबाट नागरिकता प्राप्त गरिसकेका नेपाली आमाबाबुका सन्तानले नेपाली नागरिकता प्राप्त गर्ने संवैधानिक हकबाट बञ्चित भएको पनि गठबन्धनको भनाइ छ।

Advertisement

‘संविधान सभाबाट निर्मित संविधानले व्यवस्था गरेको जनतामा निहित सार्वभौमसत्ता, संवैधानिक सर्वोच्चता र लोकतान्त्रिक शासन व्यवस्थाका आधारभूत मूल्य मान्यतामा गम्भीर प्रहार भएको यो बैठक ठहर गर्दछ,’ वक्तव्यमा भनिएको छ, ‘राष्ट्रपतिको यो कदमकाविरुद्ध सचेत रहन संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संवैधानिक व्यवस्थाका पक्षधर सबै राजनीतिक दल, नागरिक समाज, बौद्धिक समुदाय, संचार जगत लगायत सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा यो बैठक आह्रवान गर्दछ।’

संघीय संसदले दोस्रो पटक पठाएको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले प्रमाणीकरण गर्न अस्वीकार गरेकी छन्। भदौ २० गते प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाइएको विधेयक मंगलबार राति १२ बजेभित्र प्रमाणीकरण भईसक्नु पर्ने थियो । तर, राष्ट्रपति भण्डारीले उक्त विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेकी छन् । जसका कारण नागरिकता ऐन संशोधन विधेयक मंगलबार रातिदेखि स्वतः खारेज भएको छ ।