April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

अनशनरत डा. केसी काठमाडौं आउन मानेनन्, सेनाको स्काई ट्रक फर्कियो

1.9K

काठमाडौं । अनशनरत डा. गोविन्द केसीले उपचारका लागि काठमाडौं आउन अस्वीकार गरेका छन् । तर केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको सेती प्रादेशिक अस्पताल धनगढीले जनाएको छ ।

स्वास्थ्य सेवा सुधारका माग राखेर ९ दिनदेखि अनशनमा रहेका डा.केसी उपचारका लागि काठमाडौं जान नमानेपछि नेपाली सेनाको स्काई ट्रक खाली फर्किएको छ ।

कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापा तथा सेती प्रादेशीक अस्पतालका चिकित्सकको टोलीले केसीलाई उपचारका लागि काठमाडौं जान आग्रह गरे पनि उनी जान अस्वीकार गरेका थिए ।

Advertisement

जिल्ला प्रशासनले कार्यालय कैलालीका अनुसार आफूलाई जटिल समस्या नभएकाले जबर्जस्ती नगर्न केसीले पटक पटक आग्रह गरेपछि नेपाली सेनाको स्काई ट्रक काठमाडौं फर्केको हो ।

प्रशासनले भन्यो, ‘डा.केसी उपचाररत सेती प्रादेशिक अस्पतालका चिकित्सकले डा.केसीको पेटमा कडा खालको अल्सरको लक्षण देखिएको भनेपछि सेनाको स्काई ट्रकमार्फत काठमाडौं पठाउने तयारी गरिएको थियो।’ केसीले भोलि साँझ आफै काठमाडौं आउने तर आज भने कुनै पनि हालतमा नआउने बताएका छन् । यदि जबरजस्ती गरेमा यसलाई अपहरण मान्ने भन्दै डा.केसीले त्यसविरुद्ध लड्ने बताएका छन् ।

त्यस्तै यता, केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको सेती प्रादेशिक अस्पताल धनगढीले जनाएको छ । अस्पतालले सोमबार एक सूचना जारी गर्दै केसीको स्वास्थ्य अवस्था विग्रदै गएकाले उपचारको लागि विशेषज्ञ भएको विशिष्टिकृत अस्पतालमा स्थानान्तरण गर्न आवश्यक रहेको जनाएको छ ।

डा.केसीले भदौ २७ गते धनगढीको लक्ष्मीनारायण मन्दिरको धर्मशालामा २०औं सत्याग्रह सुरु गरेका हुन् । चौथो दिनदेखि उनको स्वास्थ्यमा समस्या देखिन थालेपछि सेती प्रादेशिक अस्पतालको वार्डमा सारिएको हो ।

अस्पतालले केसीमा टाउको दुख्ने, रिँगटा लाग्ने, श्वास फेर्न गाह्रो हुने, पेट दुख्ने, शरीरका मांसपेसी दुख्ने लगायत समस्या देखिन थालेको जनाएको छ ।