काठमाडौं : बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको अन्त्येष्टि आज गरिँदैछ।
अन्त्येष्टिमा सहभागी हुन विश्वभरका नेता तथा शाही परिवारका व्यक्तिहरु लण्डनमा भेला भएका छन्। बेलायतमा दशकौँ पछि शाही परिवारका सदस्य तथा राष्ट्राध्यक्षहरूको ठूलो उपस्थिति रहेको बीबीसीले जनाएको छ।
महारानीको अन्त्येष्टिमा सहभागी हुन राष्ट्राध्यक्षसहित ५ सय बढी विदेशी विशिष्ट व्यक्तिलाई बोलाइएको छ। महारानीको अन्त्येष्टि वेस्टमिनिस्टर ऐबे पश्चिम लण्डनमा हुनेछ।
त्यहाँ कम्तीमा २ हजार २ सय मानिस उपस्थित हुने अनुमान गरिएको छ। व्यवसायिक उडानबाट लण्डन पुगेका नेताहरुलाई बसमा पश्चिम लण्डन लगिने छ। अन्त्येष्टिमा शाही परिवारका व्यक्तिहरु, युरोपका राजपरिवारका सदस्यहरु, अमेरिकी राष्ट्रपति जो बाइडेन तथा राष्ट्र मण्डल सदस्यका राष्ट्राध्यक्षहरू सहभागी हुनेछन्।
महारानीको अन्त्येष्टिमा रुस, बेला रुस, म्यानमार, सिरिया, भेनेजुएला तथा अफगानिस्तानका राष्ट्राध्यक्षलाई निम्तो दिइएको छैन। महारानी एलिजाबेथको गत भदौ २३ गते स्कटल्याण्डको एडिनबरामा ९६ वर्षको उमेरमा निधन भएको थियो।