April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

दशैंका लागि टिकट बुकिङ खुला, परिचयपत्र लगाएका कर्मचारीसँग मात्रै टिकट काट्न आग्रह

1.8K

काठमाडौं । बडादसैंलाई लक्षित गरेर देशभरका सार्वजनिक यातायात व्यवसायीले अग्रिम बस टिकट खुला गरिएको छ । बस टिकट खुलेसँगै काउन्टरहरुमा यात्रुहरुको चाप बढेको छ । कोभिडका कारण गत दुई वर्ष दसैंमा घर जाने यात्रु संख्या घटे पनि यसपटक भने बढीभन्दा बढी यात्रु बाहिरिने आंकल यातायात व्यवसायी गरेका छन् ।

नयाँ बसपार्क, कलंकी, कोटेश्वर, गौशाला, चाबहिललगायत स्थानमा टिकट काट्न शनिबारबाटै सेवाग्राहीको भिड लाग्न थालेको छ । सडक विभाग, यातायात व्यवसायी महासंघ, ट्राफिक प्रहरीलगायत सरोकारवालाको संयुक्त बैठकले १ असोज शनिबारबाट अग्रिम बस टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो ।

यातायात व्यवस्था विभागले परिचयपत्र लगाएका कर्मचारीसँग मात्रै टिकट काट्न यात्रुलाई अनुरोध गरेको छ । ‘जो कोहीसँग टिकट काट्दा ठगिने सम्भावना रहेको’ भन्दै उसले ‘परिचयपत्रवाहक कर्मचारीसँग मात्र टिकट काट्न’ आग्रह गरेको हो ।

Advertisement

यता, सार्वजनिक सवारीसाधनका लागि देशभर दसैं लक्षित ‘रुट पर्मिट’ खुला पनि गरिने भएको छ । चाडपर्वमा यात्रु चाप हुने स्थानमा सवारीसाधन व्यवस्थापन सहज गराउन यातायात व्यवस्था विभागले ‘रुट पर्मिट’ खुला गर्ने निर्णय गरेको हो ।

भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग, सडक विभाग, ट्राफिक प्रहरी तथा यातायात व्यवसायीबीच केही दिनअघि बसेको बैठकले यस्तो निर्णय गरेको थियो ।

घटस्थापनाका दिन अर्थात् १० असोजदेखि पूर्णिमा अर्थात् २३ असोजसम्म सार्वजनिक सवारीसाधन देशभर सञ्चालनका लागि ‘रुट पर्मिट’ आवश्यक पर्नेछैन । यद्यपि, कुनै विशेष प्रकृतिका कारण बाटोमा चल्न निषेध गरिएका सार्वजनिक सवारीका सम्बन्धमा भने बन्देज यथावत् रहनेछ ।