काठमाडौं । मंसिर ४ मा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन हुँदैछ । निर्वाचनका लागि सत्तारुढ दलहरु मोर्चाबन्दी गरेर मैदानमा उत्रिनका लागि सिट बाँडफाँडको अन्तिम तयारीमा छन् । उक्त गठबन्धनको अन्तिम उद्देश्य प्रमुख प्रतिपक्षी दलका उम्मेदवारलाई पराजित गर्नु हो । त्यसपछि जनताका अपेक्षाहरुलाई सम्बोधन गर्नु हो । प्रतिपक्षी दल एमाले पनि सत्तारुढ गठबन्धनका उम्मेदवारलाई मैदानबाट पाखा लगाउने र आगामी सत्तारोहण गर्ने कसरतमा छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले कुनै पनि दलसँग गठबन्धन नगर्ने दाबी गरिरहेका छन् । शुक्रबार मात्र नेकपा एमालेले जनकपुरधाममा आयोजना गरेको जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एमालेले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा कसैसंग गठबन्धन नगर्ने उदघोष गरे ।
एमाले कसैको सहारामा चल्ने पार्टी होइन, पूर्वप्रधानमन्त्री ओलीले भने ‘एमाले एक्लै गठबन्धनविरुद्ध काफी छ, कसैको सहारा चाहिदैन ।’ लोकतन्त्रमा गठबन्धन बनाएर चुनाव लड्नु उचित हुँदैन त्यसैले एमाले गठबन्धन गर्दैन, ओलीले भने ‘कुनै कुनै दलसँग तालमेल हुन सक्छ, ‘कुनै कुनै दललाई तालमेलको नाममा सहारा भने दिन सकिन्छ ।’
यसो भनिरहँदा एमालेले भित्रभित्रै विभिन्न पार्टीहरुसँग गठबन्धनको घनीभूत रुपमा कसरत गरिरहेको छ । एमाले लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल), जनता प्रगतिशील पार्टी नेपाल (जप्रपा), तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) सहितका दलसँग चुनावी गठबन्धन बनाउने आन्तरिक गृहकार्यमा जुटेको छ ।
यता, सत्ता संचालकको भूमिकामा रहेका दलहरु यसैपनि गठबन्धनको प्रयासमा छन् । सिट टुंगो लगाउने तयारीमा जुटेका छन् । नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नपाल (जसपा) र राष्ट्रिय जनमार्चाका पाँच दलीय गठबन्धन रहको छ । उनीहरु निश्चय नै चुनावी गठबन्धनको तयारीमा छन् । पाँच दलले चुनावी मोर्चाबन्दी गर्ने भनेर सहमति पनि गरिसकेका छन् ।
हाल सम्पन्न स्थानीय तह निर्वाचनमा पाँच दलीय गठबन्धनका कारण बहुसंख्यक पालिकामा पराजय व्यहोरेको एमाले साना दलसँग गठबन्धन बनाएर प्रतिनिधिसभा र प्रदेशसभामा बलियो उपस्थिति देखाउन खोजेको छ । एमाले अध्यक्ष ओली आफैं गठबन्धन निर्माणका लागि जुटिरहेका छन् । तर सार्वजनिक मन्चमा कसैको सहारा नलिने अभिब्यक्ति पनि दिइरहेका छन् ।
एक साता यता ओलीले लोसपा अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, जप्रपा अध्यक्ष हृदयेश त्रिपाठी, राप्रपा नेपालका अध्यक्ष कमल थापालगायतसँग छुट्टाछुट्टै छलफल गरिसकेका छन् । सिट वाँडफाँड अवस्थासम्म पुगिसकेका छन् जसको जिम्मेवारी एमालेबाट उपाध्यक्ष विष्णु पौडेललाई दिइएको छ । ओली स्वयम पनि विभिन्न नेताहरुसँग भेटिरहेका छन् ।
एमाले महासचिव शंकर पोखरेलले आवश्यकताअनुसार चुनावी तालमेल हुन सक्ने बताउँदै आएका छन् । सार्वजनिक कार्यक्रममा समेत पोखरेलले ‘अन्य दलसँग चुनावी तालमेल हुने’ बताउँदै आएका छन् । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले चुनावी तालमेल हुने बताइरहेका छन् । सत्तापक्ष र प्रतिपक्ष दुवैले विभिन्न दलहरुसँग चुनावी तालमेल गरेर अघि बढ्ने निश्चित देखिएसँगै आगामी निर्वाचन निकै रोचक हुने अनुमान गरिएको छ ।
निर्वाचन आयोगले पनि चुनावी तयारीलाई तिब्रता दिएको छ । आयोगले समानुपातिक निर्वाचन कार्यक्रमअन्तर्गत २ र ३ असोजमा उम्मेदवारको बन्दसूची पेस गर्न समय तोकेको छ । प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताका लागि भने २३ असोजको समय निर्धारण गरिएको छ । त्यस्तै प्रदेश सभातर्फको समानुपातिक निर्वाचन प्रणालीका लागि मतपत्र छपाइ थालेको छ । आयोगले आइतबारबाट प्रदेशसभाअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ सुरु गरेको हो ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रदेशसभा समानुपातिक निर्वाचन कार्यक्रमतर्फको मतपत्र छपाइ आइतबारबाटै सुरु गरिएको जानकारी दिए । निर्वाचन हुने नै भएपछि अबको भिडन्त सत्तारुढ गठबन्धन भर्सेस प्रतिपक्षी गठबन्धनबीच हुने निश्चित छ । कतिपय नेताहरुले सत्तारुढ गठबन्धनले बहुसंख्पयक सिट जित्ने दाबी गरिरहे पनि प्रतिपक्षी दलको गठबन्धन पनि थप बलियो बन्दै गएपछि चुनावी परिणाम यसै भन्न सक्ने अवस्थामा छैन । किनकी स्थानीय तहको निर्वाचनको नतिजालाई हेर्दा एमाले निकै बलियो रुपमा उपस्थिति देखाइसकेको छ । अब गठबन्धन पनि गरेर चुनावी मैदानमा जाँदा दुवैतर्फका उम्मेदवारहरुलाई चुनाव जित्न त्यती सहज भने देखिदैन ।