काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि पठाएको नागरिकता विधेयक राष्ट्रिय सभाबाट पुनः पारित भएको छ।
नेपाल नागरिकता ऐनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभाबाट शुक्रबार पारित भएको हो । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले बहुमतको आधारमा विधेयक पारित भएको घोषणा गरे।
विधेयक प्रतिनिधि सभाले यसअघि नै पारित गरिसकेको छ। राष्ट्रपति भण्डारीले १५ बुँदे सन्देश सहित पुनर्विचारका लागि पठाएको विधेयक संसद्को दुवै सदनले हुबहु पारित गरेको हो। सदनबाट पारित विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाइने छ। राष्ट्रपतिले १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने व्यवस्था छ।
२४ असार २०७९ मा दर्ता भएको यो विधेयक प्रतिनिधिसभाबाट साउन ६ र राष्ट्रियसभाबाट १२ गते पारित भइ साउन १४ गते प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पुगेको थियो । तर, विधेयक प्रमाणीकरण नगरी २९ साउनमा राष्ट्रपति भण्डारीले संघीय संसद्समक्ष जानकारी, अध्ययन र विमर्शका लागि भन्दै सातवटा बुँदा र ध्यानाकर्षणका लागि आठ वटा बुँदामा सन्देशसहित विधेयक फिर्ता गरिदिएकी थिइन ।
राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाएको विधेयक पुनः संघीय संसदको दुबै सदनबाट पारित भएको छ । पुनः पारित भएर गएको विधेयक फेरि फिर्ता गर्न सक्ने अधिकार राष्ट्रपतिलाई नरहेको सरोकारवालाहरु रहेको भनाई रहेको छ ।