काठमाडौं । आज शुक्रबार भाद्र कृष्णपक्ष अष्ठमी तिथि अर्थात् सनातनीको आस्था श्रीकृष्ण जन्माष्टमी । भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ । आज सरकारले देशभर सार्वजनिक बिदा पनि दिएको छ ।
तिथिको हिसाबले १२ बजेको समयमा द्धापरयुगमा भगवान श्रीकृष्णको जन्म भएको थियो । त्यही अवसर पारेर आज श्रीकृष्णको जन्म जयन्ती विशेष पर्व मनाउने गरिन्छ । कृष्णलीला कथा प्रवचन हुने गरेको छ ।
कृष्ण चरित्र, सुन्ने, हेर्ने र श्रीकृष्ण लीलाहरुको अध्ययन गर्दा सकारात्मक सोच प्राप्त हुनेछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो । आज कृष्ण मन्दिरमा मेला लाग्ने गर्छ ।
पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्णमन्दिरमा ठूलो मेला लाग्दैछ । यसैगरी, राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिकामा रहेको नवतनधाममा पनि भक्तजनको भिड शुरु भएको छ । उत्तरी भेगस्थित बूढानीलकण्ठमा रहेको श्रीकृष्ण भावनामृत संघको कार्यालयमा रहेको कृष्ण मन्दिरमा पनि भक्तजनको भिड लाग्ने गरेको छ ।