November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

नेपाललाई श्रीलङ्का नबन्ने बाटाेमा लैजान कांग्रेस सक्षम छ : विश्वप्रकाश शर्मा

2K

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अबको दशक नेपाल निर्माण र नेपाल समुन्नतिको दशकको रूपमा अघि बढ्ने बताएका छन् ।  

आज सोमवार ललितपुरमा नेपाल ललितकला सङ्घले आयाेजना गरेकाे कला संस्कृतिको उत्थान विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले यस्तो बताएका हुन् । शर्माले बदलिएको कांग्रेस र बलियो कांग्रेस बनाएर यो देशमा सबै भाषा, संस्कृतिको प्रगति गरेर सबै दललाई सँगै लैजान सक्ने समाज बनाएर जान कांग्रेस सक्षम रहेको दाबी गरे । उनले नेपाललाई श्रीलङ्का नबन्ने बाटोमा लैजान, नेपाललाई समुन्नतिको उचाइकाे बाटाेमा लैजान कांग्रेस पार्टी सक्षम रहेको बताए ।

शर्माले भने, ‘यो देशलाई समुन्नत उचाइमा लिएर जान बाँकी छ । नेपाललाई श्रीलङ्का नबन्ने बाटोमा, नेपाललाई समुन्नतिको उचाइमा लैजान नेपाली कांग्रेस पार्टी सक्षम छ । यो देशमा सबै भाषा, संस्कृतिको प्रगति गरेर सबै दललाई सँगै लैजान सक्ने समाज हामी बनाएर जानेछौँ । अबको दशक नेपाल निर्माण र नेपाल समुन्नतिको दशकको रूपमा लैजानुपर्छ ।’

Advertisement

महामन्त्री शर्माले कलाकार राष्ट्रका गहना नभइ गौरव भएकोले यस्ता भनाइहरूमा पनि परिवर्तन गर्न आवश्यक रहेको बताए । शर्माले नेपालले संसार सामु उच्च शिर राखेर समृद्धिको उचाइ जित्न बाँकी रहेको भन्दै कला, संस्कृति र साहित्यले यसमा धेरै सहयोग पुग्ने बताए । नेपाल कहिल्यै पराजित भएको थिएन भन्ने इतिहास झुटो भएको भन्दै नेपाल पराधिन नभएको तर पराजित भएको पाठ बालबालिकालाई सिकाउन आवश्यक रहेको बताउदै शर्माले नेपाली समाजमा विश्वलाई पहिल्यै जितिसकेका छाैँ, अब जित्नै पर्दैन भन्ने एक किसिमको सङ्कुचित सोचको विकास भइरहेकोले कला, संस्कृति र साहित्यमार्फत त्यसलाई हटाउन आवश्यक रहेको बताए ।