महिला र पुरुषबिचको फरकपन जैविक लिङ्गभेद हो। समाजले निर्धारण गरेका महिला र पुरुषका फरक फरक भूमिकाका कारण सामाजिक लिंगभेदको सिर्जना भएको हो। यसै कारण हाम्रो परिवार, समाज र जीवनमा महिला र पुरुष संग गरिने ब्यबहार र सोच हरेक तह र तप्कामा फरक छन् ।
बाल्यकालमा जब भाई भाडा माझ्न सघाउन आउथे मेरो बाबाले भाइलाई भन्नुहुन्थ्यो, – “त्यो तेरो काम होइन, दिदीहरुले गरिहाल्छन्, किन त चुला चौका नजिक जानु पर्यो “, मन कटक्क हुन्थ्यो । भाइ सानो भएकोले होला भनेर आफै चित्त बुझाउथेँ तर बिस्तारै बुझ्दा भाइ सानो भएर मात्र बाबाले भन्नु भएको होइन रहेछ, हरेक घरमा छोरा र छोरीको काम अलग–अलग रहेछ । यस्तो विभेदको कुराले धेरै दुखि हुन्थे तर मेरो बाबाले शिक्षा लिने सन्दर्भमा भने छोरा र छोरी समान हुन् दुबैलाई बराबर पढाउनु पर्छ भनेर जोड दिनु भयो । सायद यदि त्यसो नगर्नु भएको भए आज म यस ठाउँमा आएर यो सब लेखिरहेकी हुन्न थिए । गाउँ, घर र समाजमा छोरा र छोरीबीचको विभेद यथावत नै थिए तर म आफुलाई भाग्यमानी ठान्छु मैले छोरा जस्तै उच्चशिक्षा लिने मौका पाएँ ।
हाम्रो समाजमा छोरीलाई पढ्न पठाउनु हुन्न भन्ने सोच भएका कारणले नै मेरो उमेरका कतिले पढ्न पाएनन् । एकजना छिमेकीका छोराछोरीहरु धेरै थिए । उनीहरु ब्राम्हण परिवारका थिए । ती ब्राम्हणले छोरीहरुलाई १५–१६ वर्षको भएपछि बिहे गरेर पठाइदिन्थे । छोरीहरुलाई सात आठ कक्षा पढ्न थालेपछि सबैको विवाह गरिदिए तर छोराहरुले भने उच्च् शिक्षा लिने अवसर पाए । यस अर्थमा आफुलाई भाग्यमानी ठान्छु । बाल्यकाल देखि नै परिवार र समाजमा देख्दै, भोग्दै आएको विभेद अहिले अमेरिकामा आइपुग्दा पनि निहालिरहेकी छु ।
पहिले नेपालमा रहंदा यस्तो लाग्थ्यो सायद अन्य विकसित देशहरुमा यस्ता विभेद नहुँदा हुन्, तर मेरो सोचाई गलत साबित भयो । नेपाल र अमेरिकामा हुने विभेदमा मात्र केही फरक रहेछ तर विकसित देशहरुमा पनि महिलाहरुले पुरुषसंग हरेक क्षेत्रमा लड्नु पर्नेरहेछ । अमेरिका जस्तो विकसित ठाउमा पनि धेरै नै विभेद रहेछ। कतिपय शिक्षित पुरुषहरु महिलालाई सम्मान गर्छन्, आदर गर्छन् अनि हरेक क्षेत्रमा साथ र सहयोग दिन्छन् भने कतिपयले महिलालाई एउटा प्रयोगको बस्तु मात्र सम्झन्छन् । आफुलाई जन्मदै पुरुष भएकोमा घमण्ड गर्छन्।
विकसित मुलुकहरुमा पनि महिलामाथिको विभेद छ भन्ने कुराको उदाहरण हो अमेरिकाको सन् २०१६ को राष्ट्रपतिको निर्वाचन र हिलारी क्लिन्टनको पराजय । राजनीतिमा अनुभव नै नभएका डोनाल्ड ट्रम्पको जीत हुनुको एउटा कारण थियो उनको प्रतिद्वन्दी महिला थिइन् । यहाँका पुरुषबादी सोच र मानसिकता बोकेका पुरुषहरु जसरी भएपनि राष्ट्रपति जस्तो गरिममय पदमा पुरुष नै हुनुपर्छ भन्ने मानसिकताबाट ग्रसित थिए । यसको अलावा अमेरिकाको एउटा तथ्यांकले महिला र पुरुषबीचको पारपाचुके हुनुको प्रमुख कारक तत्व कुनै ठुलो विषय नभएर घरको काम रहेको निष्कर्ष सार्बजनिक गरेको थियो । अर्थात यहाँका पुरुषहरु पनि घरको सम्पूर्ण काम महिलाको नै हो भन्ने सोचबाट अझै सम्म ग्रसित छन् ।
नेपालमा रहँदा केही अधिकारको क्षेत्रमा काम गर्ने अवसर पाएकोले जहिले पनि महिलालाई कसरी पुरुष जस्तै शिक्षित र सक्षम बनाउन सकिन्छ भनेर विभिन्न छलफल र बहस गर्थेयौ । नेपालमा त्यो समयमा बिभिन्न परियोजनाहरुले पनि महिला सशक्तिकरणका विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान दिएका थिए त्यसैको परिणाम मान्नु पर्छ, पहिलो र दोश्रो संविधानसभामा ३३ प्रतिशत महिलाको सहभागिता । तर देखावटी रुपमा महिलालाई शक्तिसम्पन्न बनाउन खोजे पनि पुरुष मानसिकताको परिवर्तन नभएसम्म महिलालाई हरेक ठाउँमा महिला भएकै कारणले आफ्नै परिवार, समाज अनि हरेक परिवेशमा संघर्स गर्दै अघि बढ्नु परेको छ ।
केही समय अघिमात्र नेपाल मामिलाले आयोजना गरेको “एनआरएनएमा महिला नेतृत्व, सशक्तिकरण र चुनौतिहरु“ बिषयक अन्तरक्रिया कार्यक्रममा यस लेखकले पनि सहभागिता हुने अवसर प्राप्त गरेको थियो । अन्तराष्ट्रिय स्तरमा पनि नेपाली महिलारुले आफ्नै समाजका पुरुषहरुसंग संघर्ष गर्नु पर्दाको वेदनाहरु सुन्दा धेरै दुःख लाग्यो । सोही प्रसंगमा एनआरएनए आइसीसीका पूर्व महिला संयोजक रन्जू थापाले आफ्नो प्रस्तुतिको क्रममा भन्नु भएको थियो, “ महिलाहरु जसको श्रीमान एकदमै सहयोगी छन्, हरेक क्षेत्रमा आफ्नो श्रीमतीलाई सहयोग गर्छन् उनीहरु नै अघि आउन सक्छन् नत्र भने महिलाहरुलाई धेरै नै गाह्रो छ ।” यस भनाइले मलाई एकदमै छोयो । तर मनमा एउटा कुरो खड्किरह्यो किनकि जीवनमा सबै महिलाका निम्ति त्यस्ता श्रीमानहरु हुन्नन् । कतिपय महिलाहरु एकल नै जीवन चलाइरहेका छन् , कति बाध्यताले कति रहरले सबैको आ आफ्नै परिवेश।
कुनैपनि व्यक्ति सफल हुनको लागि कसैले नदेखिने भूमिका अबश्य खेलेको हुन्छ चाहे त्यो श्रीमान होस् अर्थात् जो कोही तर यदि श्रीमान् सहयोगी छैन् अर्थात् केही महिलाको श्रीमान नै छैन भने म यो कारणले अघि बढ्न सक्दिन भन्दा पनि म आफै कसरी आफु सशक्त भएर अगाडि बढ्न सक्छु भन्ने सोच प्रत्येक महिलामा हुनुपर्छ । आज जति पनि विभिन्न ठाउँमा महिलाहरु पुगेका छन् सबै श्रीमानकै कारणले मात्र होइनन् । सहयोगी श्रीमान पाउनेहरु भाग्यमानी हुन् र यस अर्थमा उनीहरु जीवनमा सफल हुन् सक्छन त्यसमा कसैको दुविधा छैन तर सबै महिलाहरु त्यति भाग्यमानी पनि छैनन् जसका श्रीमानहरुले हरेक पाटोमा साथ र सहयोग गर्छन् । त्यसैले मेरो श्रीमान सहयोगी छैन अर्थात् मलाई सहयोग गर्ने श्रीमान छैन त्यसैले जीवनमा सफल बन्न सक्दिन भन्ने सोचले महिलाको आत्मबल कमजोर हुन्छ तर जीवनमा एक्लै पनि कैयौं लडाई लड्न सकिन्छ भनेर हिम्मत लिनु सक्नुपर्छ । यसको उदाहरण हुन् विश्वप्रसिद्ध महिला लेखक जेके रोव्लिंग । उनले त्यो सफलता न त आफ्नो श्रीमानको सहयोगले प्राप्त गरिन् न त कुनै व्यक्ति बिशेषको । श्रीमानसंग सम्बन्ध बिच्छेद पछि ‘सिंगल मदर’ अर्थात् एकल आमा बनेकी उनले जीवनमा बाच्नका लागि बेरोजगार भत्तामा पनि भर पर्नु परेको थियो तर पनि जीवनमा उनले कहिल्यै हार खाइनन । उनको पुस्तक प्रकाशनको लागि कैयन पटक प्रकाशन गृहले अस्वीकृत गरेको थियो । आफ्नो पारिवारिक पिडा, आमाको भूमिका अनि एक्लो जीवनको उतार चडाबलाई भोग्दै उनी आफ्नो कर्ममा निरन्तररुपमा लागिरहिन् र अन्त्यमा सफलता हासिल गरेरै छाडिन। फोर्बे म्यागजिनक अनुसार उनि संसारमा सबैभन्दा धनि महिला लेखक बनिन् ।
जेके रोव्लिंग एउटा उदाहरण मात्र हुन्, बिस्वमा उनि जस्तै कैयन महिला छन्, जसले जीवनको विभिन्न असहज परिस्थितिलाई पनि स्वीकार्दै अघि बढेका छन् र सफलता हात परेका छन् । जब कसैले कुनै कुरा गर्छु भनेर अठोट लिएर अघि बढ्छ भने एकदिन सफल भएरै छाड्छ चाहे जीवनमा कसैको साथ होस् या त नहोस् । मान्छेको जिन्दगी संधै सोचे जस्तो मात्र हुन्न, बाहिर हेर्दा हराभरा देखिए पनि भित्र अनेक तरहका बेदनासंग लड्दै हिडेका हुन्छन् तर जब आत्मबल दह्रो हुन्छ तबसम्म जस्तो सुकै परिस्थितिसंग लड्न सकिन्छ भन्ने उदाहरण उनीहरुको जीवनले बताउँछ। प्रसङ्ग महिला र पुरुष बीचको विभेदको हो। महिला आफुले भोगेको विभेदको महशुस गरिरहँदा तबसम्म संगै हिंड्ने अर्थात् एकै परिवारका, समाजका र जीवनका हरेक पक्षका पुरुषहरुले महिलालाइ आफू जस्तै समानरुपले सम्मान गर्न सक्दैन तबसम्म यो विभेदको अन्त्य गर्न सकिन्न । त्यसैले यसको महसुस महिलाले मात्र गरेर हुन्न पुरुषले पनि यो कुरा महसुस गर्नुपर्छ । महिलामात्र भेला भएर यो विभेदको कुरा गरेर, आफुले मात्र बुझेर यो विभेदको अन्त्य कहिले पनि हुन् जबसम्म संगै हिड्ने पुरुषहरुले महिलालाई आफु जस्तै सम्मान गर्न सक्दैन। त्यसैले यस्ता बहस र छलफल हुँदा विभिन्न तहबाट पुरुषहरुलाई यसको अवगत गराउनु जरुरी छ । महिला पनि आफु जस्तै मानव हो र जीवनको अभिन्न अंग हो, एक सहपाठी, सहयात्री, जीवन र जगतको प्रमुख पात्र भन्ने महसुस जबसम्म पुरुषहरुमा आउदैन तबमात्र विभेद अन्त्यको सम्भावना रहन्न । हरेक तरहबाट अब महिलालाई होइन पुरुषलाई बुझाउने प्रयत्न गर्नु पर्छ तबमात्र विभेदरहित परिवार, समाज र विश्वको कल्पना गर्न सक्छौ।