November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

स्वास्थ्यमन्त्री खापुङ र भक्तपुर नगरप्रमुख प्रजापतिबीच भेट

3K

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङ र भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिबीच भेटघाट भएको छ । स्वास्थ्य मन्त्रालयमा भएको भेटमा प्रमुख प्रजापतिले मन्त्री खापुङलाई ख्वप अस्पतालको भौतिक पूर्वाधार विकास र उपकरण खरिदका लागि सहयोग गर्न आग्रह गरेका छन् ।

भेटमा मन्त्री खापुङले स्थानीय तहबाट सञ्चालित अस्पतालबाट व्यापक जनताको सेवा हुने बताउँदै अस्पतालको स्तरवृद्धि र आवश्यक सहयोग गर्न मन्त्रालय सकारात्मक रहेको स्पष्ट पारेका थिए । ख्वप अस्पतालको स्थलगत अवलोकन गर्ने इच्छा जाहेर गर्दै भक्तपुर नपाबाट सञ्चालित ख्वप अस्पतालको निरीक्षण गर्न छिटै भक्तपुर आउने आश्वासन समेत दिए ।

भेटका क्रममा नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित १०० शैय्या क्षमताको ख्वप अस्पतालबाट प्रवाहित सेवा तथा सुविधाहरुबारे अवगत गराउँदै अस्पतालले घरदैलो नर्सिङ सेवा सञ्चालनका साथै दैनिक ७ सय बढी बिरामीहरुलाई स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको जानकारी गराएका थिए ।

Advertisement

ख्वप अस्पतालको लागि आवश्यक एमआरआई मेसिन, सीटी स्क्यान मेसिन, ओ.टी लाइट, एम्बुलेन्स, ओ।टी टेबल, इन्डोस्कोपी, कोलोनोस्कोपीलगायतका स्वास्थ्य उपकरण तथा भौतिक पूर्वाधार निर्माणको लागि आवश्यक सहजीकरण र सहयोगको लागि समेत स्वास्थ्यमन्त्री समक्ष नगरप्रमुख प्रजापतिले आग्रह गरेका थिए ।