काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले सरकार छोडेपछि कसरी ४९ अर्बको चामल आयात भएको बताएका छन् । ६० प्रतिशत भन्दा बढी जनता कृषिमा सहभागी भएको देशमा खाद्यान्नमा आत्मनिर्भर हुन नसकेको ओलीले बताए ।
शनिवार अखिल नेपाल किसान महासंघले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले हिमालदेखि तराईसम्म उब्जाउ भूमि रहे पनि जम्मा ३ करोड जनता खाद्यान्नमा आत्मनिर्भर हुन नसक्नु दुःखद रहेको बताए ।
ओलीले भने–‘बाहिरको खाद्यान्न आयात वृद्धिका लागि हो कि खाद्यान्नमा आत्मनिर्भर हुन नदिनका लागि हो कि वा छुद्र कमिसनको खेलका लागि हो कि ?’ उपयुक्त नीतिका साथ कृषिको आधुनिकीकरण, व्यवसायीकरण गरेर अघि बढ्न नसकेकोले यो स्थितिलाई बदल्नुपर्ने ओलीको टिप्पणी छ ।
यस्तै, अध्यक्ष ओलीले संसद्मा प्रधानमन्त्री शेरबहादुर देउवाले मलको अभाव नहुने बताए पनि मल नल्याएर झुक्याउने काम गरेको बताए । उनले किसान महासंघका प्रतिनिधिहरूलाई कृषकहरूको उत्पादकत्व वृद्धि गर्ने कार्यमा सहयोग गर्न आग्रह गरे समेत आग्रह गरे ।