काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचन निष्पक्ष र धाँधलीरहित नभएको बताएका छन् । बिहीबार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै अध्यक्ष ओलीले सत्तापक्षले बुथ कब्जा गरेको, बम पड्काएको र उम्मेदवारहरूलाई थुनिएको आरोप लगाएका हुन् ।
सरकारले निर्वाचन धाँधलीरहित निर्वाचन भएको भनेपनि सत्ता गठबन्धनले निर्वाचनका नाममा लोकतन्त्रकै धज्जी उडाएको ओलीले बताए ।
यही गठबन्धनले २०७४ मा पनि निर्वाचन गराएको तर यस्तो धाँधली नभएको ओलीको टिप्पणी थियो । ‘यस्तो नाङ्गो ढंगले पञ्चायतमा पनि राज्यसत्ताको दुरुपयोग गरेर निर्वाचन भएको थिएन तर यसपटक भयो, उम्मेदवारलाई थुनेर, बुथ कब्जा गरेर, बुथ कब्जा गर्दा प्रहरी निरीह भएर हेरेर बसेको छ । बुथ कब्जा नगर भन्दा प्रतिपक्षका कार्यकर्ता गिरफ्तार गरिएको छ’, ओलीले भने, ‘उम्मेदवारका घरमा बम पड्काइएको छ । अनि के यो शान्तिपूर्ण भयो सबै ? कि घरका भित्ताका फेदमा बम पड्किनु सत्ता पक्षलाई अपजस लगाउन हो’ ओलीको प्रश्न छ ।
उनले एमाले आजको संविधान र आजको प्रणाली ल्याउन संघर्ष गरेको पार्टी भन्दै बहुदल आएपछि फुत्त निस्केर सहभागिता जनाउ भनेर सहभागी भएको पार्टी नभएको बताए ।